News Summary
Generated by OK AI. Editorially reviewed.- रारा ताल मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्जभित्र २,९७२ मिटर उचाइमा १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
- मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङसहितको टोलीले रारा तालको भ्रमण गरेको छ ।
- रारा ताल क्षेत्रमा सहज बाटोघाटो, पर्यटकमैत्री संरचना र व्यवस्थित पर्यटकीय पूर्वाधारको अभाव देखिएको छ ।
मैले स्कुल पढ्दादेखि नै रारा तालको बारेमा सुन्दै आएको थिएँ। नेपालको सबैभन्दा ठूलो ताल मुगु जिल्लामा पर्छ भन्ने तथ्य पाठ्यपुस्तकमा पढेको थिएँ। हाजिरीजवाफ प्रतियोगितामा पनि पटक–पटक सोधिने प्रश्नमध्ये यो एउटा हुन्थ्यो, र मैले आत्मविश्वासका साथ उत्तर दिने गर्थेँ- ‘नेपालको सबैभन्दा ठूलो ताल रारा ताल हो, जुन मुगु जिल्लामा अवस्थित छ।’
वर्षौँसम्म किताबका पानामा, नक्सामा र तस्बिरहरूमा मात्र देखेको रारा ताललाई यसपटक आफ्नै आँखाले हेर्ने अवसर मिल्यो। चार दिनको लामो र थकाइपूर्ण यात्रापछि जब पहिलोपटक रारा ताल मेरो आँखाअगाडि खुल्यो, त्यो क्षण शब्दमा बयान गर्न गाह्रो थियो।
समुद्री सतहबाट २,९७२ मिटर उचाइमा रहेको र करिब ५.२ किलोमिटर लम्बाइमा फैलिएको रारा साँच्चै राजा महेन्द्रले भनेझैँ ‘स्वर्गकी अप्सरा’ जस्तै लाग्यो।
नयाँ ठाउँमा पुग्दा मेरो पहिलो काम फोटो खिच्ने हुन्छ। तर राराको किनारमा पुगेपछि क्यामेराभन्दा आँखाले हेर्न मन लाग्यो। म लामो समयसम्म ताललाई टुलुटुलु नियालिरहेँ। नीलो आकाशको प्रतिबिम्ब बोकेर शान्त रूपमा फैलिएको विशाल जलराशि, वरिपरि हरिया वन, टाढासम्म देखिने पहाडका घेराहरू- सबैले मनलाई एकाएक शान्त बनाइदिए।
म तालको किनारसम्म पुगेँ। पानी छोएँ। चिसो पानीको स्पर्शले बेग्लै अनुभूति दिलायो। त्यसले मात्र मन मानेन। दुवै हातको अञ्जुलीमा पानी उठाएँ, श्रद्धापूर्वक ढोगेँ र मनमनै भनेँ- ‘साँच्चै, तिमी स्वर्गकी अप्सरा रहेछौ।’

राराको यात्रामा हामी चार जना थियौँ- मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङ, ध्रुव आचार्य, बलराम थापा र म। हामी सबै घुमफिरका पारखी थियौँ। हाम्रो एउटै लक्ष्य थियो- रारा पुग्ने र त्यसको सौन्दर्यलाई नजिकबाट महसुस गर्ने।
टोलीका सदस्यहरूलाई राराबारे केही न केही जानकारी थियो, तर वास्तविक राराले हाम्रो कल्पनाभन्दा धेरै फरक अनुभूति दियो। यद्यपि, राराको अनुपम सौन्दर्य हेर्दा अर्को प्रश्न पनि मनमा उठिरह्यो- के हामीले प्रकृतिले दिएको यो अमूल्य उपहारलाई पर्याप्त रूपमा उपयोग गर्न सकेका छौँ ?
यति प्रसिद्ध पर्यटकीय गन्तव्य भए पनि पूर्वाधारका दृष्टिले धेरै पक्षहरू अझै कमजोर देखिए। बाटोघाटोको सहजता, पर्यटकमैत्री संरचना, ताल अवलोकनका व्यवस्थित स्थल, फोटो तथा भिडियो खिच्न मिल्ने आकर्षक स्थान, सूचना केन्द्र तथा अन्य सुविधाहरू अपेक्षाकृत कम देखिए। राराको किनारमा पुगेर घोडा चढ्ने र केही तस्बिर खिच्नेबाहेक पर्यटकलाई लामो समय आकर्षित गर्ने थप गतिविधि कमै देखिए।
त्यसैले मनमा एउटा खिन्नता पनि रह्यो। यस्तो अद्भुत प्राकृतिक सम्पदालाई विश्वसामु अझ व्यापक रूपमा चिनाउन सकेको भए बर्सेनि लाखौँ पर्यटक भित्र्याउन सकिने सम्भावना थियो। तर व्यवस्थापन र पूर्वाधार विकासको कमीका कारण राराले आफ्नो पूर्ण सम्भावना अझै प्राप्त गर्न नसकेको जस्तो लाग्यो।

मेरो लागि दैलेख, कालिकोट, जुम्ला र मुगु सबै नयाँ जिल्ला थिए। ती जिल्लाका भौगोलिक कठिनाइ, त्यहाँका जनजीवन र प्राकृतिक सौन्दर्य आफैँमा रोचक अनुभव बने। तर ती सबै अनुभवमध्ये राराको पहिलो दर्शन सबैभन्दा स्मरणीय रह्यो।
रारा ताल केवल नेपालको सबैभन्दा ठूलो ताल मात्र होइन, यो नेपालको प्राकृतिक सम्पदाको अनुपम नमुना पनि हो। करिब १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो ताल ‘रारा राष्ट्रिय निकुञ्ज’ भित्र अवस्थित छ। यहाँ पाइने स्वच्छ वातावरण, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र हिमाली वनस्पतिले यस क्षेत्रलाई जैविक विविधताको महत्त्वपूर्ण केन्द्र बनाएको छ। मौसमअनुसार तालको पानीले बदल्ने रङ, बिहानको सुनौलो प्रकाश र साँझको शान्त दृश्यले जो–कोहीलाई मोहित बनाउँछ।
राराबाट फर्किँदा मेरो क्यामेरामा सयौँ तस्बिर थिए, तर मनमा कैद भएको राराको सौन्दर्य ती तस्बिरभन्दा धेरै विशाल थियो। त्यसैले आज पनि आँखाअगाडि राराको नीलो जलराशि उस्तै स्पष्ट देखिन्छ र मनले फेरि एकपटक त्यही कुरा दोहोर्याउँछ, ‘रारा, तिमी साँच्चै स्वर्गकी अप्सरा रहेछौ।’









प्रतिक्रिया 4