२५ जेठ, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको सभापतिमा सुवर्ण रोकाहा क्षत्री निर्वाचित भएका छन् । आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा १७७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ध्रुव अधिकारीले १०५ मत ल्याएका छन् । कुल २८५ मत खसेको थियो ।
त्यस्तै उपसभापतिमा १६९ मत ल्याएर सुकबहादुर तामाङ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी भेषबहादुर खड्काले १०५ मत ल्याएका छन् ।
सचिवमा मिलन राना निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा योगेन्द्र जंग बस्नेत १५० मतसहित बिजयी बनेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उनका प्रतिद्वन्द्वी राजेश्वर अम्गाईले १२२ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा अञ्जना काप्री (खुल्ला महिला), रिता श्रेष्ठ (जनजाती), बिष्णुमाया अम्गाई (खुल्ला), सानुमैया नेपाली ( दलित महिला), मञ्जर अन्सारी (मुस्लिम) र सुमित गुरुङ (खुल्ला पुरुष) निर्वाचित भएका छन् ।
खुल्ला पुरुषतर्फको एक सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो । जसमा ७७ मत ल्याएर गुरुङ बिजयी भएका हुन् । अन्य सदस्य भने निर्विरोध निर्वाचित भएको रास्वपा गोरखा नगर सचिव अमृत भट्टराइले बताए ।
उनका अनुसार निर्वाचन क्षेत्र नम्वर १ को संयोजकमा गोविन्द पन्त र उपसंयोजकमा कल्पना खड्का निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्वर २ को संयोजकमा विश्वास पोखरेल र उपसंयोजकमा दिनानाथ धिताल रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4