Comments Add Comment

जयमोहन : संसारकै ठूलो उपन्यासका लेखक

जयमोहन

नेपाली साहित्यमा विसं २०३२ सालमा “आगत” उपन्यास प्रकाशन भएपश्चात निकै ठूलो उपन्यासको रुपमा त्यसको चर्चा भएको थियो । उपन्यासकार भवानी भिक्षुले सो उपन्यास २५ वर्ष लगाएर लेखेका थिए र त्यसले २०३२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

त्यस्तै विसं २०३९ सालमा “माधवी” प्रकाशन भएपछि सो उपन्यास नेपालीको सबैभन्दा ठूलो उपन्यासको रोपमा चर्चा गरिएको थियो । तर, त्यो भन्दा ठूला अरु उपन्यास छन् भनेर प्रतिवाद पनि भएको थियो ।

नेपाली साहित्यमा सबैभन्दा ठूलो उपन्यास कुन हो र केका आधारमा ठूलो मानिएको हो, त्यसको निर्क्यौल गर्ने ठोस आधार र संस्था देखिएका छैनन् । अनुमानको आधारमा वा कुनै मिडियाले लेखिदिएकै भरमा मात्र चर्चा चल्ने गरेको पाइन्छ ।

संसारमा सबैभन्दा ठूलो उपन्यास कुन होला त ?

यसको भने उत्तर गिनिज बुक अफ वर्ल्ड रेकर्डस्, विकिपेडिया र गुगलले दिन्छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले फ्रान्सेली उपन्यासकार मार्सेल प्राउस्ट (जन्म १० जुलाई १८७१-मृत्यु १८ नोभेम्वर १९२२) को ९६,०९, ००० (स्पेस समेत गन्ती गर्दा छयानव्वे लाख नौ हजार) अक्षरको उपन्यास “रिमेम्बरिङ अफ थिङ्गस् पास्ट” लाई संसारको सबैभन्दा लामो उपन्यास मानेको छ ।

तर, अर्को जानकारीअनुसार यो ३०३१ पेजको उपन्यासको शब्द सङ्ख्या १२,६७,०६९ (बाह्र लाख सतसट्ठी हजार उनान्सत्तरी) मानेर यसलाई दोश्रो ठूलो मान्दै सत्रौं शताब्दीमा लेखिएको “साइरस ग ग्रेट” लाई मानिन्छ । यो १३,०९५ पेजको उपन्यास १० भागमा प्रकाशित भएको थियो र यसमा १९,५४,०००९ (उन्नाइस लाख चउन्न हजार नौ) शब्द सङ्ख्या रहेका छन् ।

मूल रुपमा फ्रान्सेली भाषामा लेखिएको यो उपन्यासका लेखक जर्जेज द सुडेरी मानिन्छ तर कतिपयले भने उनकी बहिनी मण्डालिन समेत सहलेखिका भएको विश्वास गर्दछन् ।

तर सन् १९७७ मा लेख्न शुरु गरिएको र सन् २०१० मा ३३ वर्ष लगाएर पूरा गरिएको उर्दू भाषाको उपन्यास “देवता” अहिले नं. एकमा पुगेको छ । मुहिउद्दिन नवाव लिखित यो उपन्यास “सस्पेन्स डाइजेष्ट” मा धारावाहिक प्रकाशन भएको थियो र यसमा ३२,०६,३१० (बत्तीस लाख छ हजार तीनसय दस) शब्द रहेका छन् । यो उपन्यास ५६ भागमा प्रकाशित भएको छ । टेलिप्याथीको शक्ति भएका फरहद अली तैमूर सहित यस उपन्यासमा ६२ मुख्य पात्रहरु रहेका छन् ।

अहिले तमिल भाषाका उपन्यासकार जयमोहनले सन् २०१४ देखि निरन्तर लेख्दै र प्रकाशन गरिरहेको उपन्यास “देवता” विश्वको सबैभन्दा लामो उपन्यास हुने क्रममा छ । उनले सन् २०१४देखि हरेक दिन उपन्यासको एक अध्याय वेबसाइटमा पोष्ट गर्छन् र एक भाग पूरा भएपछि त्यो भाग पुस्तकको रुपमा प्रकाशित हुन्छ

विकिपिडियाले अपडेट गरेको पछिल्लो जानकारी अनुसार पाँच लाख शब्द माथिका ३९ उपन्यासहरुको एक सूचि बनाएको छ जसमा नोबेल पुरस्कारप्राप्त दुई साहित्यकारका उपन्यासहरु पनि छन् । ती दुई उपन्यासकारहरु हुन् रोलाँ रोला र लेस्ला रेमोण्ट हुन् ।

सन् १९२१५ मा नोवेल पुरस्कार प्राप्त रोमा रोलाँको उपन्यास “जाँ क्रिष्टोफ” हो जसमा ६,१०,०००(छ लाख दस हजार ) शब्द रहेका छन् र यो १६६६ पेजको छ । त्यस्तै सन् १९२४ मा नोवेल पुरस्कार प्राप्त लेस्ला रेमोण्ट को उपन्यास “द पिजेण्ट” चार भागमा प्रकाशित भएको थियो सन् १९०४ देखि १९०९ का वीच । यो उपन्यास उनले सन् १८९७ मा थालनी गरेका थिए ।

अर्कातिर अमेरिकाकाको शिकागोमा उपन्यासकार हेनरी डार्गर (जन्म १२ अप्रिल १८९२-मृत्यु १३ अप्रिल १९७३) को १५, १४५ (पन्ध्र हजार एकसय पैंतालिस) पेजको मिहिन रुपले टाइप गरेर पानी रङ्गका चित्रहरुले सजाएर हार्ड बाउण्ड गरिएको १५ भागको “इन द रियल्मस् अफ द अनरियल” हस्त लिखित उपन्यासलाई संसारको सबैभन्दा ठूलो उपन्यास मानिएको छ, जुन अझै प्रकाशित चैं भएको छैन ।

अमेरिकी उपन्यासहरुमा जोसेफ म्याकरोय लिखित ११९२ पेजको “मेन एण्ड उमन” म्याडिसन कूपपर लिखित १७३१ पेजको “सिरोनिया, टेक्सास” उपन्यास सबभन्दा लामो उपन्यासका रुपमा चर्चा गरिन्छ । रोचक कुरा के छ भने ११९२ पेजको “मेन एण्ड उमन” मा ८,५०,००० (आठ लाख पचास हजार) शब्दहरु छन् भने १७३१ पेजको “सिरोनिया टेक्सास” को ८,४०,००० (आठ लाख चालीस हजार) शब्दहरु मात्र छन् ।

रसियाका विश्व बिख्यात् उपन्यासकार लियो टल्सटायको “युध्द र शान्ति” पनि त्यस भाषाको एक लामो महान उपन्यास हो । १२२५ पेजको यो उपन्यासका अंशहरु “द एयर १८०५” शीर्षकमा सन् १८६५ देखि १८६७ सम्म धारावाहिक रुपमा प्रकाशित भएको थियो । तर पुस्तकको रुपमा भने सन् १८६९ मा प्रकाशित भएको थियो ।

जापानी साहित्यमा भने उपन्यासकार सोहाची यामाओकाको ऐतिहासिक उपन्यास “तोकुगावा लेयासु” सबभन्दा लामो उपन्यास मानिन्छ । ४० भागको यो उपन्यास पहिलोपल्ट सन् १९५० देखि १९६७ सम्म १७ वर्ष धारावाहिक रुपमा प्रकाशित भएको थियो । यसमा एक करोड जापानी अक्षरहरु रहेका छन् ।

यसै सिलसिलामा चिनियाँ उपन्यासकार हुवाङ यी को ६३ भागको “उजिया” अर्थात् “द लिजेण्ड अफ द ताङ डाइनेष्टी” चिनियाँ लामो उपन्यासमा महत्वपूर्ण छ । यसमा ७९४ अध्यायहरु छन् । शुरुमा ६३ भागमा प्रकाशित यो उपन्यास पछि संशोधन गरेर २० भागमा प्रकाशित गरिएको थियो ।

जर्मन भाषामा भने सन् १९२९ मा साहित्यतर्फको नोबेल पुरस्कार पाउने उपन्यासकार थोमस मानको “जोसेफ एण्ड हिज ब्रदर्स” लाई लामो उपन्यासको रुपमा लिइन्छ । यो उपन्यास १५०० पेजको छ ।

इटालेली भाषामा भने १७०० पेज लामो “नेपोलिटान नोभेल्स” लाई लामो उपन्यासको रुपमा चर्चा गरिन्छ । यसको लेखिका एलेना फरान्ते यसकी लेखिका हुन् ।

भारतीय अङ्ग्रेजी भाषाका उपन्यासकार विक्रम सेठको १४८८ पेजको उपन्यास “अ सुटेबल ब्वाई” पनि विश्वका ठूला उपन्यासको सूचिमा छ जुन सन् १९९३ मा प्रकाशित भएको थियो । यो उपन्यास हार्ड कभरमा १३४९ पेजको थियो तर पेपर ब्याक संस्करणमा भने १४८८ पेजको भयो ।

यस उपन्यासले विक्रम सेठलाई विश्वब्यापी ख्याति दिलायो । उनको यस उपन्यासलाई विख्यात सिने निर्देशक मीरा नायरले बीबीसीका लागि टिभी सिरिज बनाएकी थिइन् र यसले पनि विश्वव्यापी वाहवाही कमाउन सफल भयो । यो उपन्यासको हिन्दी अनुवाद पनि प्रकाशित भएको छ ।

अहिले भारतकै तमिल भाषाका उपन्यासकार जयमोहनले सन् २०१४ देखि निरन्तर लेख्दै र प्रकाशन गरिरहेको उपन्यास “देवता” विश्वको सबैभन्दा लामो उपन्यास हुने क्रममा छ । उनले सन् २०१४देखि हरेक दिन उपन्यासको एक अध्याय वेब साइटमा पोष्ट गर्छन् र एक भाग पूरा भएपछि त्यो भाग पुस्तकको रुपमा प्रकाशित हुन्छ हार्ड कभर र सफ्टकभरमा । यसरी अहिलेसम्म त्यस उपन्यासको २६ भाग प्रकाशित भइसकेको छ र तिनको शब्द सङ्ख्या ३६ लाख ४० हजार पुगिसकेको छ भने पृष्ठ सङ्ख्या २२ हजार ४ सय पुगेको छ ।

यो उपन्यास सन् २०२४ मा पूरा हुनेछ र त्यतिबेला यो उपन्यास २५,००० पेजको हुने अनुमान गरिएको छ । यो कीर्तिमानी उपन्यास महाभारतको कथाको पृष्ठभूमिमा लेखिएको छ । यो उपन्यास अहिलेसम्म तमिल भाषामै सीमित देखिएको छ ।

यति ठूलो उपन्यास लेख्ने जयमोहन सन् १९६२ जन्मेका हुन् र यसअघि नै उनको एक दर्जन उपनयास, १३ कथा सङ्ग्रह, यौटा नाटक, वाल साहित्यमा दुई कृति समेत प्रकाशित छन् । वालसाहित्यमा प्रकाशित दुई कृतिमध्ये यौटा कृतिको नाम चाहिँ “यति” हो ।

त्यस्तै समालोचनाका २५ कृति प्रकाशित छन् । त्यति मात्र नभएर उनका जीवनी, नियात्रा, दर्शन शास्त्र, जीवन अनुभवका कृतिहरुको सङ्ख्या पनि दर्जनौं छन् । उनले चलचित्रका लागि लेखेका स्कृनप्लेको सङ्ख्या पनि एक दर्जन बढी छ । यो सबै हेर्दा उनी लेखक हुन् कि मेसिन झैं लाग्छ । ५८ वर्षको उमेरमै यति धेरै लेख्न सक्ने उनले आफ्नो जीवनकालमा कति लेख्लान्, कल्पना गर्न सहज छैन ।

– गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment