Comments Add Comment

भ्याक्सिनमा पनि त्यही हविगत हुने त होइन ?

लामो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी भोगिरहेका हामीलाई अहिले महामारीको अवस्था के छ र हामी कुन चरणमा छौं भनेर थाहा छैन जस्तो लाग्छ । आम जनतालाई महामारीको अवस्था थाहा दिन विज्ञहरुले विश्लेषण गर्नुपर्छ भन्ने लाग्दछ । त्यही विश्लेषणका आधारमा हामीले बनाएको सोच ठिक छ की छैन भनेर मूल्याकंन गर्नुपर्छ । तर यतिखेर हामी विज्ञहरुसँगै तथ्यांकको वैकल्पिक स्रोत छैन । हाम्रा लागि तथ्यांकको स्रोत भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो । अहिलेसम्म हामीले मन्त्रालयले उपलब्ध गराएको तथ्यांकलाई नै विश्वास गरेका छौं ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो हप्तामा संक्रमितहरुको संख्यामा कमी आएको छ । संक्रमितको संख्या निरन्तर घटिरहेको भन्दा पनि एक ठाउँमा आएर स्थिर रहेको देखिन्छ । सुरुमा संक्रमण घट्ने क्रममा भएपनि अहिले ५/६ सयको हाराहारीमा अड्किरहेको देखिन्छ ।

संक्रमितहरुको संख्या घट्नुका पछाडि दुईवटा सम्भावित कारण हुन सक्छन् । सम्भावित यसकारण भनिरहेको छु कि यही कारण हो भन्न हामीसँग स्वतन्त्र तथ्यांक नभएकाले यथेष्ट प्रमाण छैन ।

पहिलो कारण, साँच्चिकै संक्रमण विस्तारमा कमी भएको हुन सक्छ । दोस्रो, वास्तविक संक्रमितहरु पहिचान हुन नसकेको पनि हुनसक्छ । समाजमा भएका संक्रमितहरुलाई तथ्यांकमा समेट्न नसकेकाले कम संक्रमित देखिएको हुन सक्छ । हाम्रो परीक्षण निरन्तर घट्नुलाई पनि हामी तथ्यांकमा संक्रमित कम देखिनुको एउटा आधार मान्न सक्छौं ।

जुनसुकै कारणले संक्रमितको संख्या घटेको भए पनि हामी जोखिममै छौं । त्यसलाई हामी नकार्न सक्दैनौं र नकार्न पनि हुँदैन । जति संख्यामा भए पनि हरेक दिन संक्रमित पहिचान हुनु भनेको जोखिममुक्त भएको छैनौं भन्न मिल्ने ठूलो आधार हो । यसको मतलब हामी हिजोका दिनहरुमा जस्तै त्रसित र आतंकित भएर व्यवहार गर्नुपर्छ भन्ने चाहिँ होइन ।

संक्रमित हुने र मृत्यु हुनेलाई मात्रै क्षतिको विश्लेषण गर्ने हो भने पनि हामीकहाँ तुलनात्मक रुपमा अरु देशभन्दा बढी क्षति भएको छ

तर जनस्वास्थ्यका मापदण्डमा लापरवाही गर्ने बेला पटक्कै भएको छैन । आम जनमानसमा कोरोना संक्रमणको जोखिम छैन भन्ने मानसिकता विकास भएर त्यही अनुरुप व्यवहार भएको हो भने त्यो हाम्रो लागि अत्यन्तै जोखिमपूर्ण छ । किनभने केही समयअघिसम्म संक्रमितहरु हाम्रो देशमा पहिचान भएपनि आयातित केस थिए । उनीहरुको सम्पर्कमा रहेकाहरुको पहिचान हुन्थ्यो । अहिले संक्रमण समुदायमा फैलिएकाले संक्रमण स्रोत थाहा हुन्न । अहिलेको दिनमा जो जति संक्रमित देखिएको छ, उनीहरु कहाँबाट संक्रमित हुनुभयो भनेर स्रोत खोज्दा पत्ता लाग्दैन ।

आत्मघाती कदम

सामान्यतया प्रकोपको विस्तार हुने माध्यम भनेको संक्रमितहरु नै हो । हाम्रो समुदायमा को संक्रमित छ, को छैन भन्न्ने थाहा नभएकाले संक्रमितहरु समुदायमै चलायमान छन् । हाम्रो सामाजिक कारण र दैनिकीले गर्दा चहलपहल बढ्न थालेको छ । पछिल्लो समय राजनीतिक कारणले गर्दा आम मानिसहरु सडकमा आउन बाध्य भए, यो हाम्रा लागि आत्मघाती हो । यस्ता जुलुस समुदायमा संक्रमण फैलाउने उपयुक्त माध्यम बन्नसक्छ । किनभने अरु बेला सामाजिक ढंगबाट मानिसहरु जम्मा हुँदा अलिकति भए पनि सुरक्षाका प्रावधानहरुलाई अवलम्बन गर्ने सम्भावना बढी रहन्छ । तर राजनीतिक कारणले हुने भेला जुलुसमा आक्रोशले गर्दा जनस्वास्थ्यको मापदण्ड ख्याल हुँदैन । त्यो भिडको मानसिकताले जनस्वास्थ्यको मापदण्ड ख्याल गर्दैन, त्यहाँ आक्रोश र भावनात्मक गतिविधि बढी हुन्छ ।

नेपालमा यतिबेला कोरोना त केही होइन भन्ने सामूहिक मानसिकता विकास भएको देखेको छु । सुरुको दिनदेखि  हाम्रोमा समानान्तर रुपमा कोरोना केही होइन भनेर आवाज गुन्जिरह्यो । ‘कोरोना भनेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले फैलाएको अनावश्यक हुइँया हो’, ‘मेडिकल माफियाको काम हो,’ भन्ने हल्ला फैलाइयो ।  त्यसैगरी हावापानी खानपान संस्कार आदिले हाम्रो रोग प्रतिरोधात्मक क्षमता विकास भएको छ,’ भनेर समेत प्रचार गरियो । यस्ता आवाज सुरुका दिनदेखि आइरहेका थियो तर ठूलो आवाजमा प्रतिकार गरेनौं । हामीकहाँ क्षति कम हुनुका पछाडिको कारण के हो भनेर विश्लेषण गर्नेतिर पनि लागेनौं ।

क्षति भनेको मृत्यु मात्र हो ?

तथ्यांक हेर्ने हो भने नेपालको जनसंख्याको तुलनामा संक्रमण कम होइन । अहिले पनि प्रतिलाखमा कति संक्रमित भए भनेर विश्वका अरु देशसँग तुलना गर्ने हो भने नेपाल कम संक्रमण भएको राष्ट्र होइन । मृत्युको कुरा गर्ने हो भने अथवा अस्पताल भर्ना भएको गम्भिर प्रकृतिको बिरामी हेर्ने हो भने म नेपालमा कम क्षति भएको भनेर मान्दिनँ । यतिसम्म भन्न सकिन्छ मृत्युदर कम छ । मृत्युदर कम हुनु पछाडिका कारणलाई चाहिँ सुक्ष्म रुपमा विश्लेषण गरिनुपर्छ ।

खास गरेर हामीकहाँ युवाहरु बढी संक्रमित भए । त्यसमा पनि संक्रमण सुरुवातको महिनामा त विशेष गरी रोजगारीका लागि भारत गएर फर्किएकाहरु बढी संक्रमित थिए । भारत जाने मौसमी कामदार युवाहरु नै हुन् । युवाहरुमा प्राकृतिक रुपमा नै नेपालमा मात्र होइन, विश्वभर नै मृत्युदर कम छ । तर यदि जेष्ठ नागरिकहरुको मृत्युदरलाई तुलना गर्ने हो भने नेपालमा कम क्षति भएको मान्न सकिन्न । सरदर हेर्दा जे देखिन्छ वास्तविकता त्यो हुन्न ।

महामारीमा कति जना संक्रमित भए र कति जनाको मृत्यु भयो भनेर मात्र क्षतिलाई हेरिनुहन्न । क्षति हेरिने अरु धेरै पाटाहरु छन् । कति नेपालीहरुले कोभिडकै कारणले आत्महत्या गर्न पुगे ? कति नेपालीहरु ऋणमा डुबे ? कति नेपालीहरुले रोजगारी र व्यवसाय गुमाएका छन् ? हाम्रो देशको सरदर आर्थिक स्थिति के भयो ? सन् २०२० लाई पर्यटन वर्ष भनेर घोषणा गरेका थियौं, के हालत भयो ? यी सप्पै कुराहरु क्षति हो ।

संक्रमित हुने र मृत्यु हुनेलाई मात्रै क्षतिको विश्लेषण गर्ने हो भने पनि हामीकहाँ तुलनात्मक रुपमा अरु देशभन्दा बढी क्षति भएको छ ।

नेपालमा कोभिड केही होइन भन्ने मानसिकता विकास हुनुका अन्य थुप्रै कारणहरु पनि छन् । पछिल्लो समय खोपको विकास भयो । खोपको विकास भएपछि हाम्रोमा सरकारबाट आधिकारिक रुपमा चाँडै खोप ल्याउने सन्देश प्रवाह भयो । राज्यले सम्पूर्ण नेपालीलाई समयमै खोप उपलब्ध गराउँछौं भनेकाले पनि लापरवाहीको मानसिकता विकास भएको हुनसक्छ । अहिले मानिसहरु ‘खोप आइहाल्यो, डराउनुपर्ने केही छैन’ भन्ने मानसिकता बोकेर हिँडेको हो भने त्यसले जोखिम बढाउँछ । यसको अर्थ लकडाउन गरेरै बस्ने भनेको होइन । त्रसित र आतंकित हुनुपर्छ भनेको पनि होइन । हिजो विदेशमा संक्रमणले मानिस मर्दा यहाँ डराएजस्तो अहिले पनि डराइरहनुपर्छ भन्ने होइन ।

हिजोभन्दा आज मनोबल र आत्मविश्वास बढेको हो भने सकरात्मक हो । तर त्यो आत्मविश्वास लापरवाहीमा रुपान्तरण भयो भने आत्मघाती र दुःखद हुन्छ । मानिसमा विश्वासको मानसिकता हुनुपर्छ, साथसाथै सुरक्षा मापदण्डलाई पनि इमान्दारीताका साथ अभ्यास गर्ने संस्कार हुनुपर्छ ।

सरकारका नीतिगत कुराहरु सुन्दा आनन्द लाग्छ, तर कार्यन्वयनको तहमा ठीक उल्टो छ । त्यसैले खोपबारे सरकारी नीति पनि कार्यान्वयनको तहमा जाँदा त्यस्तै हुने त होइन भन्ने चिन्ता स्वाभाविक रुपमा बढ्छ

मानिसहरुमा लापरवाहीको सामूहिक मनोविज्ञान विकास हुनुको कारण हामीले कोभिडबारे धेरै ठाउँमा सन्देश पुर्याउन नसकेर पनि हो, सन्देश प्रवाह गर्ने तौरतरिका नमिलेर पनि हो । आम मानिसको मन छुनेगरी हामीले सन्देश प्रवाह गर्न सकेका छैनौं ।

सिद्धान्ततः कुनै पनि समस्यासँग जुध्ने तीन वटा एप्रोच हुन्छन् । पहिलो, हामी केही गर्न सक्दैनौं भनेर आत्मसमर्पण गरिदिने । दोस्रो, यो समस्या केही पनि होइन भनेर बेवास्ता गरिदिने । र, तेस्रोः समस्यालाई स्वीकार गरेर त्योसँग लड्ने र त्यसलाई प्रतिकार गर्ने ।

कोभिडको सन्दर्भमा पनि यही कुरा हो । अहिले हामीले आत्मसमर्पण गरेका छैनौं, समस्यालाई स्विकार गरेर क्षमताअनुसार लडेका पनि छौं । तर सँगसँगै समस्या बुझेर पनि आँखा चिम्लने र जे होला होला भन्ने प्रवृत्ति पनि देखिएको छ ।

नागरिकको एउटा हिस्साले समस्या बुझेका छन्, सुरक्षित हुन चाहन्छन्, तर उनीहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्न नसक्ने अवस्थामा छन् । चाहेर पनि उनीहरु मापदण्ड पालना गर्न सक्दैनन् किनकि, उनीहरुलाई बिहान–बेलुकाको छाक टार्न धौ–धौ छ । सार्वजनिक यातायातमा चाहेर पनि मापदण्ड पालना गर्न सकिन्न, कार्यालयमा जाँदा पनि त्यहाँ मापदण्ड पालना गर्न असम्भव हुन्छ । किनकि वातावरण नै मिल्दैन । अर्काथरि मानिसहरु मापदण्ड पालना गर्न सक्छन्, तर लापरवाही गरिरहेका छन् । नबुझेर नसक्ने भन्दा पनि बुझ्ने र सक्ने मानिसको लापरवाही हाम्रो लागि चिन्ताको विषय हो ।

यो सबै अवस्था हेरिरहँदा स्वास्थ्य मन्त्रालयको काम र भूमिकालाई पनि हेर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले कसरी निर्णय गरेर काम गर्छ भन्ने विषयमा धेरै मानिस अनभिज्ञ छन् । किनकि जनस्वास्थ्यको हिसाबले फाइदा पुर्याउने धेरै निर्णयहरु भएको छैनन् । सरकारले गर्नुपर्ने र गर्न सक्ने काम पनि भएका छैनन् । महामारी नियन्त्रणमा गर्नुपर्ने विविध काममा सरकार चुकेको छ, त्यो विषयमा म अहिले जान्न ।

भ्याक्सिनमा पनि त्यही हविगत हुने त होइन ?

पछिल्लो समय सरकारले भ्याक्सिनबारे धेरै नीतिहरु बाहिर ल्याइरहेको छ । थुप्रै प्रतिबद्धता र प्रतिज्ञा जाहेर गरिसकेको छ ।  त्यो कार्यान्वयन गर्न के कस्ता आधार तय भएका छन् भन्ने विषयमा स्पष्ट छैन । अहिले पनि परीक्षणमा थुप्रै अन्योल छ । निःशुल्क परीक्षण गर्ने भनिए पनि आम नागरिकले पैसा तिरिरहनु परेको छ । संक्रमित भइसकेपछि के गर्ने अन्योल उस्तै छ । गम्भिर किसिमका संक्रमितलाई उपचार गराउँदा आर्थिक भार परिरहेको छ ।

सरकारका नीतिगत कुराहरु सुन्दा आनन्द लाग्छ, तर कार्यन्वयनको तहमा ठीक उल्टो छ । त्यसैले खोपबारे सरकारी नीति पनि कार्यान्वयनको तहमा जाँदा त्यस्तै हुने त होइन भन्ने चिन्ता स्वाभाविक रुपमा बढ्छ ।

अर्को महत्वपूर्ण कुरा के भने खोप आउँदैमा हाम्रो सम्पूर्ण समस्या समाधान हुन्न । जस्तो कि बेलायतले खोप लगाइसकेको छ तर जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गरिएको छ । हाम्रो त खोप कहिलेसम्म आउँछ ? कहिलेसम्म आम नेपालीले खोप लगाउन पाउँछन् भन्ने समयको हिसाब नै प्रष्ट छैन । प्रत्येक नेपालीलाई खोप लगाउन जति समय लाग्छ, त्यति समयमा संक्रमण विस्तार भएर क्षति पुर्याउन पर्याप्त हुन्छ । त्यसले जनस्वास्थ्यका मापदण्डहरु खोप लगाउनुअघि पनि पालना गर्नुपर्छ र खोप लगाएपछि पनि पालना गर्नुपर्छ ।

सिद्धान्ततः कोरोना भाइरसबारे धेरै बुझ्न बाँकी छ । तर एउटा समय आएपछि आफैं निष्क्रिय हुन्छ भन्ने प्रमाण फेला नपर्दासम्म संक्रमण निरन्तर फैलिइरहन्छ भन्ने बुझ्न सकिन्छ । कतिपय देशमा महामारी नियन्त्रणमा आइसकेपछि पनि दोस्रो–तेस्रो लहर आएको देखेका छौं । हाम्रो देशमा पनि संक्रमितको संख्या अलिकति घटेकै आधारमा फेरि संक्रमण फैलिँदैन भन्ने हँुदैन । हामीले यसैगरी लापरवाही गर्ने हो, सुरक्षाका मापदण्डहरु पालना नगर्ने हो भने अर्को तरंग आउँछ, त्यसमा शंका छैन । त्यो कति घातक हुन्छ भन्ने हामी अहिले अनुमान पनि लगाउन सक्दैनौं ।

पछिल्लो समय बेलायत लगायत केही देशमा भाइरसले स्वरुप परिवर्तन गरेको भन्ने खबर सुन्यौं । छिमेकी देश भारतमा पनि यो पुष्टि भइसकेको छ । बेलायतबाट नेपाल आएका यात्रुहरुमा संक्रमण देखिएको छ, तर आनुवाशिंक अध्ययन नहुँदा कुन स्वरुपको भाइरस हो भन्ने यकिन भएको छैन । तर छिमेकी देशमा स्वरुप परिवर्तन भएको भाइरस आइसक्यो भने हाम्रो देशमा पनि नआउला भन्न सकिन्न । हामी कहाँ भएकै भाइरस ‘म्युटेट’ हुन सम्भावनालाई पनि नकार्न सकिन्न ।

केही अगाडिसम्म मानिसहरु खोकी या ज्वरो आयो कि अस्पताल जान्थे । समयमै उपचार पाएकाहरु आइसोलेसनबाट निको भएर फर्किन्थे । अहिले त सामान्य लक्षण देखियो भने जचाउन जाँदैनन् । उनीहरुमध्ये कतिलाई अचानक लक्षण बढेर समस्या आउनसक्छ र अस्पताल पुग्दा सीधै आईसीयू र भेण्टिलेटरमा राख्नुपर्ने अवस्था आउँछ । अहिले अस्पतालहरुको साधारण बेड खाली र आईसीयू तथा भेण्टिलेटर भरिभराउ हुनुको कारण पनि यही हो ।

गम्भिर समस्या नआई अस्पताल नजाने प्रवृत्तिले धेरै दुर्घटना निम्त्याइसकेको छ । जति नेपाली नागरिकले कोभिडका कारणले ज्यान गुमाए, तिनीहरुलाई बचाउन सक्थ्यौं कि सक्दैनथ्यौं ? हुनसक्छ लापरवाही नगरेको भए धेरैलाई बचाउन सक्थ्यौं । हामीले चिन्ता गर्नुपर्ने विषय यो हो । हामीकहाँ मृत्यु कम भयो भनेर खुशी हुने भन्दा पनि जति भयो त्यो किन भयो भनेर सोच्नुपर्छ ।

जति क्षति भएको छ, त्यसलाई धेरै मान्ने हो भने पनि नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सकिन्छ । यस्तो बेला राज्यले बोल्ने भाषाले पनि महामारी कुन हदसम्म जानसक्छ भन्ने आँकलन गर्न सकिन्छ । र, राज्यले अहिले के बोलिरहेको छ र के गर्दैछ भन्ने हामी सबैलाई थाहा नै छ ।

(डा‍. वन्तसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment