Comments Add Comment

खाली हलमा पुराना चलचित्र कहिलेसम्म ?

१० महिना अगाडि हलमा मानिस भरिभराउ थिए । निर्माता आफ्नो चलचित्र रिलिज कहिले गर्ने दोधारमा हुन्थे । चलचित्र प्रदर्शकहरु कुन चलचित्रलाई कती शो दिने भन्नेमै व्यस्त देखिन्थे । प्रदर्शकलाई चलचित्र रोजीछोडी जस्तै थियो । हरेक हप्ता फेरिने चलचित्र हेर्नका लागि दर्शकको उत्साह पनि गज्जबको नै थियो ।

तर, १० महिनामा चलचित्र क्षेत्रको माहोल फरक छ । अहिले हलमा चलचित्र छैनन् । रिलिज भएका चलचित्र हेर्न पनि मुश्किलले ५–६ जना दर्शक हलसम्म आउँछन् । रित्तो हल भएपनि संचालकहरु चलाइरहेका छन् । हलको खर्च धान्नका लागि रिलिज भएका पुराना नेपाली र विदेशी चलचित्र पर्याप्त छैनन् ।

पुराना चलचित्र, खाली हल र दर्शकको प्रतिक्षा कहिलेसम्म गर्ने ? हल संचालकसँग यसको चित्तवुझ्दो जवाफ छैन । तर, चलचित्र क्षेत्रकै वातावरण बन्ने कारण प्रस्तुत गर्दै उनीहरु विगत २ हप्तादेखि हल चलाइरहेका छन् ।

चलचित्र संघले पौषको १० गतेबाट एकतर्फी रुपमा हल खोल्ने निर्णय गर्यो । हलमा नयाँ चलचित्र चलाएको भए सायद केही मात्रामा दर्शक आउने थिए होलान् । तर, पहिले नै चलिसकेका चलचित्र हेर्न कोरोना महामारीमा दर्शक आउने संभावना छैन ।

सीएमसीसीले हल खुल्ला गर्न मन्त्रीपरिषद्मा आग्रह गरेको छ । यसैले पनि अब, सरकारले नै हल सुचारु गर्ने निर्णय गर्नेमा दुइमत छैन । तर, के सरकारले नै हल खुलाउने निर्णय गरेपछि नयाँ चलचित्र रिलिज हुने वातावरण बन्ला त ?

चलचित्र संघका महासचिव अशोक शर्मा भन्छन्–‘अहिले नै हामीले निर्मातालाई जोखिम मोलेर नयाँ चलचित्र रिलिज गर्नुहोस् भन्न सक्ने अवस्था छैन । यसैले, अझै केही समय हामी पुराना हिट चलचित्र नै चलाउँछौ ।’

तर, अशोक कुनै निर्माताले नयाँ चलचित्र रिलिज गरेको खण्डमा दर्शक आउनेमा भने आशावादी देखिएका छन् । उनले भने–‘हलमा दर्शकले नयाँ चलचित्रको खोजी गरेको पाएका छौं । यो समयमा नयाँ चलचित्र रिलिज भयो भने दर्शक आउनुहुन्छ भन्ने लागेको छ ।’

कुनै निर्माताले नयाँ चलचित्र रिलिज गर्छु भन्दा उसलाई सुरक्षित बनाउने बिषयमा प्रदर्शकले केही सोचेका छन् या छैनन्, यसमा अशोक भन्छन्–‘कोभिडका कारण सबैभन्दा बढी मारमा हल संचालक नै परेका छन् । यसैले सबैले मिलेर नै चलचित्र क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने वातावरण बनाउन आवश्यक छ । तर, यदि कुनै प्रतिक्षित चलचित्र रिलिज गर्न कुनै निर्माता तयार हुन्छन् भने प्रदर्शकले पनि उसलाई विशेष रुपमा साथ दिन्छन् । सबै चलचित्रका लागि यसो गर्न भने सकिदैन ।’

२ हप्तादेखि पुराना चलचित्र पनि परिवर्तन भएका छैनन् । तर, आउँदो शुक्रबारदेखि भने चलचित्र परिवर्तन गर्ने तयारी प्रदर्शकहरुले गरेका छन् । कोरोना भाइरसका कारण देशका सिंगल हलहरु धेरै बन्द भैसकेको अशोक बताउँछन् । मल्टिप्लेक्स हलले पनि दर्शक नभएपनि खाली हल चलाइरहेका छन् ।

सरकारले नै चलचित्र हल खोल्न दिने तयारी गरिरहँदा अब नयाँ चलचित्र रिलिज गर्ने वातावरण बनाउन आवश्यक छ । तर, यसका लागि जोखिम कसले मोल्ने ? निर्माता वा प्रदर्शकले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment