Comments Add Comment

छोरी बलात्कारको आरोपमा १ जना पक्राउ

२० पुस, विराटनगर । छोरी बलात्कारको आरोपमा विराटनगरमा एक जना पक्राउ परेका छन् । बलात्कारबाट बसेको गर्भ गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षका पुरुष पक्राउ परेका हुन् । उनीमाथि आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोप छ ।

प्रहरी स्रोतका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए । तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज ल्याए ।

अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरे । सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीकी बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार करिब चार–पाँच महिनाको गर्भ पतनका लागि अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो ।

‘अस्पतालमा सोधिखोजी गर्दा बुबाले जबरजस्तीकरणी गर्दा गर्भ रहेको खुल्यो,’उनले भने ‘अस्पतालबाटै बुबा पक्राउ परे, अहिले हाम्रो हिरासतमा छन् ।’

पक्राउपछि अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेका छन् । थप प्रमाण संकलनका लागि गर्भपन गरिएको बच्चाको डीएनए जाँचका लागि पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment