Comments Add Comment

चितवन पुगेर शंकर पोखरेलले भने – प्रचण्डमाथि अलिकति दया लाग्छ

२० पुस, चितवन । नेकपा ओली समूहका नेता शंकर पोखरेलले चितवनमा पुगेर पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्डले या त निर्वाचन बहिष्कार गर्ने, या त चितवन छाड्ने अवस्था आएको उनको दाबी छ ।

सोमबार भरतपुरमा आयोजित ओली पक्षको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले प्रचण्डमाथि अलिकति दया लाग्ने बताए । ‘जतिपटक चुनाव हुन्छ, त्यतिपटक निर्वाचन क्षेत्र फेर्नु हुन्छ’, उनले भने, ‘पहिलो संविधानसभामा रोल्पाबाट चुनाव लड्नुभयो, दोस्रो संविधानसभामा रोल्पा जाने आँट भएन । सिरहा पुग्नुभयो ।’

उनले अघि भने, ‘सिराहामा के हालत भयो सबैलाई सम्झना छ । संविधान जारी भएपछि चुनाव लड्नुपर्‍यो, सिराहा जाने आँट भएन, चितवन आइपुग्नुभयो । चितवनमा चुनाव जित्न कमरेड केपी ओलीको साथ चाहियो ।’

कुनै पनि ठाउँका जनतालाई दीर्घकालसम्म भरोसा नगर्ने प्रचण्डको चरित्र रहेको भन्दै उनले भने, ‘अब हुने चुनावमा या त उहाँले बहिस्कार गर्नुहुन्छ या चुनावमा भाग लिनुपर्न हो भने चितवन रोज्नुहुन्न, अरु कुनै ठाउँमा जानुहुन्छ ।’

नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली सपना देखाउने र सपनाको पछाडि कुद्ने नेता भएको दावी गरे । ओलीकै अगुवाईमा नेपाली भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गर्ने र संविधान संशोधनमार्फत निशान छाप परिवर्तन गरेपछि पार्टी भित्रैबाट सरकार गिराउने खेल सुरु भएको नेता पोखरेलको दावी छ ।

पार्टी एकता जोगाउन आफू धेरै पटक बुटवल काठमाडौं दौडिएको र नेताहरुको ढोकाढोकामा पुगेर तीन विकल्प दिएको भन्दै उनले भने, ‘भदौ २६ मा फर्कौँ भन्दा उहाँ (प्रचण्ड) मान्नुभएन । महाधिवेशनमा जान पनि तयार हुनुभएन, सदस्यताको विवाद हल गर्न सक्नुभएन, प्रधानमन्त्री नै चाहियो भन्नुभयो । बामेदवलाई बलियो क्षेत्र खाली गराएर उठाउने र चुनावी प्रधानमन्त्री बनाउने भन्दा हाँस्यास्पद भन्नुभयो, सहमतिको कुनै विकल्प बाँकी रहेन ।’

त्यही बेला प्रचण्डले पार्टीमा पेश गरेको प्रस्ताव (उनको शब्दमा आरोप पत्र) नेकपा विभाजनको आधार भएको उनले जिकिर गरे । पोखरेलले संसद विघटनको बचाउ गरे । तत्कालीन संंसदमा नेकपा बाहिरबाट प्रधानमन्त्री बन्ने विकल्प नभएकाले प्रधानमन्त्रीले संसद विघटन गरेको उनको भनाइ छ ।

ओली निकट मुख्यमन्त्री पोखरेलले प्रचण्ड र माधव समूह आगामी चुनावको तयारीमा लागेको दाबी गरे । पहिलो चरणमा राजधानी केन्द्रीत आन्दोलन गरेका प्रचण्ड–माधव समूहले दोस्रो चरणमा निर्वाचन क्षेत्र र वडा केन्द्रीत कार्यक्रम ल्याएको भन्दै उनले भने, ‘उहाँहरु चुनावमा जाने तयारीमा हुनुहुुन्छ ।’

‘गल्ती प्रयाश्चित नगरे सडककै बास हुन्छ’

मुख्यमन्त्री पोखरेलले प्रचण्ड–माधव समूहले गल्ती नस्वीकारे वास सडकमै हुने चेतावनी समेत दिए । ‘उहाँहरु अहिले सडकमा हुनुहुन्छ, नेकपा निर्माण गर्ने कार्यकर्ता यहाँ छन्’, सहभागीतर्फ देखाउँदै नेता पोखरेलले भने, ‘अब (प्रचण्ड–माधव समूह) ले गल्ती नस्वीकार्ने हो भने बस्ने सडकमा नै हो, संसद र सरकारमा होइन ।’

पार्टीको प्रथम अध्यक्ष र महासचिव एकैठाउँमा भएकाले आफूहरु नै संस्थापन भएको उनले दाबी गरे ।

केपी ओलीले पार्टीलाई फुटबाट जोगाउन केन्द्रीय सदस्य संख्या ४४१ बाट बढाएर ११९९ पुर्‍याएको उनले बताए । ‘उहाँहरु ४० प्रतिशत लिएर पार्टी फुटाउने अवस्थामा पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले केन्द्रीय समिति बढाउनुभएको हो’, उनले भने, ‘राजनीतिको खेल दायाँबायाँ बिचार गरेर खेल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment