Comments Add Comment

‘हात खुट्टा बाँधेर राखेपछि महिलाले कसरी प्रतिस्पर्धा गर्छ ?’

२०, पुस, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पछाडि पारिएका प्रदेशका महिलालाई अगाडि नल्याएसम्म समृद्धि आउन नसक्ने बताएका छन् ।

मन्त्रालयद्वारा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आयोजना गरिएको दुर्व्यसनमुक्त युवा र सुरक्षित बेटी अभियान कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै प्रदेशमा महिलालाई बढी विभेदमा पारिएको बताए । महिलालाई अगाडि नल्याउँदा समाज समतामूलक नबने र आर्थिक क्षेत्रमा पनि कमजोर रहिरहने उनको भनाइ छ ।

‘महिलाको हात, खुट्टा बाँधिएको झै घुम्भटोभित्र घरमा राखिन्छ, अनि हामीसँग प्रतिस्पर्धा गर भनिरहेका हुन्छौं’ उनले भने, ‘त्यसरी महिला अगाडि बढ्न सक्दैन । यदि महिलालाई अगाडि बढाउने हो भने उनीहरुको बाँधिएको हात खुट्टा खोलिदिनुपर्छ ।’

महिलालाई पछाडि पारिएकै कारण पनि आर्थिकमा कमजोर भइरहेको उनले बताए । ‘५० प्रतिशत कमाइ गर्ने, अनि ५० प्रतिशतलाई घरमा राखेपछि आर्थिक अवस्था सुध्रिदैन’ उनले भने, ‘सबै मिलेर काम गर्नुपर्छ । अनि, मात्रै समृद्धि आउँछ ।’

शिक्षित परिवारका व्यक्ति पनि दुर्व्यसनमा लागेको र माया, ममता नपाउँदा पनि सन्तान दुव्र्यसनी बनिरहेको सन्दर्भमा सबैले यसप्रति ध्यान दिनुपर्ने उनले बताए ।

सुरक्षित बेटी र दुर्व्यसनमुक्त युवा अभियानका अभियन्ताहरुलाई बालबालिका, किशोरकिशोरी, अभिभावक, सरोकारबालासँग छलफल गरिने न्यूनतम बिषयवस्तुबारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

एक सातासम्म चल्ने तालिममा प्रदेशका आठै जिल्लाका अभियन्ताको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment