Comments Add Comment

तस्वीरमा हेर्नुहोस् काठमाडौंको प्रदूषण

२१ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसै कुहिरो लागेजस्तो देखिन्छ । तर यो कुहिरो होइन । यो त काठमाडौंमा उपत्यकामा फैलिएको धुवाँ र धुलोका कणको तह हो ।

लकडाउनको बेला हामीले कन्चन देखेको काठमाडौं उपत्यकाको आकाश अहिले धमिलो छ । किनभने केन्द्रीय राजधानी काठमाडौंमा प्रदूषण ह्वात्तै बढेको छ । काठमाडौंमा प्रदूषणको मात्रा यति धेरै बढेको छ कि यसले हामीमा क्यान्सरजस्तो घातक रोग गराउन सक्ने जानकारहरु बताउँछन् ।

सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ । त्यसैले केही दिनयता काठमाडौंमा यात्रा गर्नेहरु आँखा पोल्नेलगायतका समस्या झेलेका थिए ।

यो पनि पढ्नुहोस काठमाडौंमा आँखा पोल्ने प्रदूषण, आपतकालको तह नाघ्यो

मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको एक कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्युआई नाघेपछि विपदकाल घोषणा गर्ने भनिएको छ । तर, वातावरण मन्त्रालयकै तथ्यांकले एक्युआई ४०० नाघेको देखाउँदा पनि सरकार अहिलेसम्म चूप छ ।

काठमाडौं उपत्यका कचौरा आकारको छ । त्यसैले प्रदूषित वायु हत्तपत्त उडेर जाँदैन । पानी नपरेसम्म वायुमण्डल पनि पखालिँदैन । त्यसैले अहिले धुम्म परेको अवस्था अन्त्यका लागि पानी पर्नु जरुरी रहेको मौसमविदहरु बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलले अनलाइनखबरसँग भनिन्, ‘अहिलेको अवस्था हट्न कि त बेस्सरी हावा चल्नुपर्छ । कि पानी पर्नुपर्छ । अहिले यी दुवै अवस्था हुने देखिँदैन ।’

हावापानी विश्लेषण शाखा प्रमुखसमेत रहेकी कँडेलका अनुसार तीन महिनादेखि काठमाडौं उपत्यकामा पानी परेको छैन । सोमबार बिहान फाट्टफुट्ट पानी परे पनि प्रदूषण हटाउन त्यो प्रयाप्त भएन । त्यसैले पनि काठमाडौं उपत्यकामा प्रदूषण ह्वात्तै बढेको छ ।

काठमाडौंमा बढ्दो शहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुँवा, विकास निर्माणको क्रममा उड्ने धुलो र आगलागीले प्रदूषण बढाएको छ । प्रदूषणको शिकार भएकाहरूले क्षतिपूर्ति पाउने संवैधानिक व्यवस्था भए पनि सरकारले प्रदूषण रोक्ने सवालमा र क्षतिपूर्ति दिने सवालमा प्रभावकारी काम गर्न सकेको छैन ।

 

फोटोः विकास श्रेष्ठ र आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment