Comments Add Comment

पाकिस्तानमा भत्काइएको सन्तको समाधिस्थल पुनर्निर्माण गर्न सर्वोच्चको निर्देशन

Photo Credit : AFP

२१ पुस, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले मंगलबार सम्बन्धित अधिकारीलाई खैबर पखतुनख्वा प्रान्तस्थित करकमा भत्काइएको एक हिन्दु सन्तको समाधिस्थल दुई साताभित्र पुनर्निर्माण गर्न निर्देशन दिएको छ ।

गत डिसेम्बर ३० मा पाकिस्तानको खैबर पखतुनख्वा प्रान्तमा सयौं मुस्लिमहरुको समूहले उक्त ऐतिहासिक समाधिस्थलमा आगो लगाइ भत्काइदिएको थियो । समाधिस्थलसँगै जोडिएको हिन्दुको घरको विषयलाई लिएर देखिएको विवादले ठूलो रुप लिएसँगै मुस्लिम समूहले मन्दिर भत्काइदिएको हो ।

अल्पसंख्यक हिन्दुहरुको समाधिस्थल भत्काइएको घटनाको पाकिस्तान र बाहिरका मानव अधिकारकर्मीहरुले विरोध गरेका थिए । पाकिस्तानको सुन्नी मुस्लिम पार्टी जमायत उलेमा–ए, इस्लाम फजल पार्टीको र्‍यालीमा आएका मानिसहरुले उक्त मन्दिर भत्काइदिएका थिए ।

मंगलबार सर्वोच्चका प्रधानन्यायाधीश गुलजार अहमदले प्रहरीले पनि भिडलाई समाधिस्थलमा जान दिनु गलत भएको बताएका छन् । उनले यो घटनाबाट पाकिस्तानको अन्तर्राष्ट्रिय बेइज्जती भएको बताएका छन् । सर्वोच्च अदालतले यस विषयमा फैसला सुनाउँदै भत्काइएको समाधिस्थल जिम्मेवार व्यक्तिहरुबाट निर्माण गरिनुपर्ने उल्लेख गरेको छ । त्यस्तै सर्वोच्चले पाकिस्तानभर रहेका सञ्चालन भएका वा नभएका सबै मन्दिरहरुको विवरण पनि पेश गर्न इभ्याकु ट्रस्ट प्रपर्टी बोर्ड (ईटीपीबी)लाई निर्देशन दिएको छ ।

करक जिल्लास्थित यो मन्दिर भएको क्षेत्रमा हिन्दुहरुको बसोबास छैन । त्यसैले यहाँका एक हिन्दुले राखेको आफ्नो घरको नामप्रति रुढीवादी स्थानीयहरुले विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment