Comments Add Comment

भारतमा बर्ड फ्लु देखिएपछि नाकामा सतर्कता अपनाउन निर्देशन

२२ पुस, काठमाडौं । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए ।

‘दक्षिणतर्फका सबै नाकामा उच्च सर्तकता अपनाउन, आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधन र जनशक्ति माग गर्न विशेष निर्देशन भएको छ,’ प्रवक्ता घिमिरेले भने । काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको पनि उनले बताए ।

मन्त्रलय माताहत देशभर १६ वटा पशु क्वारेन्टाइन कार्यालयहरु छन् । देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ ।

हालसम्म मुलुकको कुनै पनि स्थानमा बर्ड फ्लू संक्रमणको जानकारी नआएको पनि मन्त्रालयले जनाएको छ । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गरिआएका दुई हजार चारसय खोया हाँसहरू मरेको बीबीसी हिन्दीले जनाएको छ । केरलामा १२ हजार हाँसहरू मरेको र मध्य प्रदेशमा १० दिनमा सयौँ कागहरु मृत अवस्थामा भेटिएको र बकुल्ला र सुगाहरू समेत मरेको पाइएको बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment