
२२ पुस, काठमाडौं । सरकारले भारतबाट कोभिड–१९ को खोप ल्याउनको लागि कूटनीतिक पहललाई तीव्र बनाएको छ ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका विभिन्न खोप उत्पादक कम्पनीका प्रमुख र सरकारी अधिकारीहरुसँग केही दिन यता निरन्तर भेटघाट गरिरहेका छन् ।
मंगलबार उनले भारत बायोटेकका कार्यकारी निर्देशक कृष्ण मोहनसँग भेटघाट गरेका थिए । भारत बायोटेकले केही दिनअघि मात्रै आपताकालीन प्रयोगको लागि अनुमति पाएको थियो ।
नेपालले १२ मिलियन खोप किन्नको लागि सहजीकरण गर्न यस अगाडि नै भारतलाई पत्राचार गरिसकेको छ । अर्काे साता हुने परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमणमा उनले भारतीय समकक्षी एस जयशंकरसँग कुराकानी गर्ने छन् । स्रोतका अनुसार उनले खोप खरिदका लागि भारतीय पक्षको स्पष्ट प्रतिवद्धता र ठोस प्रगतिको लागि आग्रह गर्नेछन् ।
नेपालले चीन लगायत अन्य विभिन्न मुलुकसँग पनि खरिदका लागि कुराकानी गरेपनि हावापानी लगायतका अन्य कारणले भारतमा उत्पादन हुने खोप उपयुक्त हुने नेपाली अधिकारीहरुले बताएका छन् ।
चीनले पनि खोप उपलब्ध गराउने प्रतिवद्धता गरेपनि खासै प्रक्रिया अगाडि बढेको छैन र सरकारको पहिलो जोड भारतबाट नै खरिद गर्ने रहेको छ ।
प्रतिक्रिया 4