Comments Add Comment

एचआईभी संक्रमितको गोपनीयता भंग गरेको आरोप

२३ पुस, वीरगञ्ज । बाराको कलैया अस्पतालस्थित एआरटी शाखामा कार्यरत हेल्थ असिस्टेन्ट (एचए) कमलेश यादवले एचआईभी संक्रमितको गोपनीयता भंग गरेको आरोप लागेको छ ।

दुई जना एचआईभी संक्रमितको बारेमा एआरटी काउन्सलर यादवले असम्बन्धित व्यक्तिहरुलाई बताएको आरोप लागेको हो । तर एचए यादवले भने आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको बताएका छन् ।

ब्लु डाईमन्ड सोसाईटीको सम्पर्कमा रहेका एक संक्रमितका अनुसार एचए यादवले असम्बन्धित व्यक्तिलाई उनी एचआईभी संक्रमित भएको जानकारी दिएका थिए । ‘समलिंगी, तेस्रो लिंगीको सम्पर्कमा रहँदा चार बर्ष अघि मलाई एचआईभी संक्रमण भयो । यो कुरा मैले परिवारमा समेत भनेको छैन,’ उनले भने, ‘एआरटी काउन्सलर यादवले एक जना सहकर्मी महिला स्टाफ र रौतहटको साथीलाई म एचआईभी संक्रमित हो भनेर भनिदिएका रहेछन् । यसरी हल्ला गरिदिएपछि गाउँ समाजमा कसरी मुख देखाउनु । परिवार, साथीभाइ छरछिमेक र आफन्तले दुर्व्यहार गर्न थाल्छन् । अनि म कसरी बाँच्न सक्छु ।’ आफूजस्तै अर्का एक संक्रमितको बारेमा यादवले अरुलाई भनिदिएको उनको भनाइ छ ।

आक्रोशमा आएका उनीहरु एआरटी काउन्सलरलाई भेट्न अस्पताल पुगेका थिए । त्यहाँ यादवलाई नभेटेपछि उनीहरुले हो–हल्ला गरेर फर्किएका थिए । समलिंगी तेस्रोलिंगीहरुको संस्था ब्लु डाइमन्ड सोसाइटी बारा इन्चार्ज पूर्णिमा श्रेष्ठ एचआईभी संक्रमितको अनुमतिविना उनीहरुको गोपनीयता भंग गर्नु गलत भएको बताउँछिन् । एआरटी शाखामा गएर हो–हल्ला गरेको जानकारी आएपछि संक्रमितहरुलाई सम्झाइ बुझाइ गरेर फिर्ता ल्याएको उनले बताइन् ।

तर एआरटी काउन्सलर यादवले भने उनीहरुले लगाएको आरोपमा सत्यता नभएको बताएका छन् । पेशागत मर्यादाभन्दा बाहिर गएर आफूले काम नगरेको बताउँदै उनले भने, ‘स्वास्थ्यकर्मी हुँ, मर्यादा थाहा छ । गैरजिम्मेवार भएर काम गरेको छैन । उनीहरुको आरोपमा सत्यता छैन ।’ एआरटी शाखामा ८९ जना संक्रमितले सेवा लिए पनि आजसम्म कसैबाट केही गुनासो नआएको उनले बताए ।

ब्लु डाइमन्ड सोसाइटीले बारामा एचआईभी संक्रमितलाई सहयोग गर्दै आएको छ । नयाँ केसहरु पत्ता लगाउने, परामर्श दिने, प्रयोगशाला परीक्षणमा लाग्ने शुल्क तिरिदिने, एआरटी सेवाका लागि सहजीकरण गर्ने, विपन्न संक्रमितलाई पौष्टिक खानाको प्रबन्ध मिलाउने काम सोसाइटीले गर्दै आएको छ । सोसाइटीका अनुसार बारामा २ सयको हाराहारीमा एचआईभी संक्रमित छन् ।

ब्लु डाइमन्ड सोसाइटीको स्वार्थ पूरा नभएका कारण आफूमाथि आरोप लगाएको एचए यादव बताउँछन् । ‘संस्थाले काम गरेको देखाउन पुरानो सेवाग्राहीलाई नयाँ केस भनेर ल्याउन दबाव दिँदै आएका छन्,’ उनले भने, ‘त्यसो गर्न नमानेपछि योजनाबद्ध रुपमा बदनाम गराउन खोजेका हुन् । उनीहरु त कुट्नै भनेर आएका थिए, मैले भागेर ज्यान बचाएँ ।’ यसअघि आफूले पुरानो केसलाई नयाँ भनी दर्ता गराएको फेला पारेको दावी उनको छ ।

सोसाईटी बाराको इन्चार्ज श्रेष्ठले भने सेवाग्राहीले नै पहिलो औषधी सेवन नगरेको भनेर ढाँटेका कारण नयाँ भनी दर्ता गराउन लगेकोमा पुरानो फाइलमा उनको नाम भेटिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment