Comments Add Comment

टेस्ला : कसरी बन्यो विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी

अमेरिकी विद्युतीय कार निर्माता टेस्ला अहिले विश्वकै सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो । शुक्रबारसम्म यो कम्पनीको बजार पुँजीकरण सात खर्ब ७४ अर्ब डलर पुगेको छ । बजार पुँजीकरणको हिसाबमा हेर्ने हो भने टेस्ला सामाजिक सञ्जाल कम्पनी फेसबुकभन्दा पनि अगाडि देखिएको छ ।

यो विद्युतीय कार निर्माता विश्व बजारमा आएको लामो समय भने भएको छैन । उसले छोटो समयमा नै दशकौंदेखि बजारमा कारोबार गर्दै आएका कम्पनीहरुलाई बजार पुँजीकरणको हिसाबमा पछि पारेको हो । सन् २०१९ को अन्तिममा टेस्लाको बजार पुँजीकरण ६० अर्ब डलर थियो । तर एक वर्षमा कम्पनीको बजार पुँजीकरण आकाशिँदै झण्डै १३ गुणा पुगिसकेको छ ।

टेस्ला कम्पनीको मात्र होइन । टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति पनि पछिल्लो एक वर्षमा उल्लेख्य बढेको छ । हालै मात्र उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति बढ्नुमा पनि टेस्लाको सेयरको भाउ आकाशिनु मुख्य कारण थियो । मस्कको सम्पत्ति एक खर्ब ८८ अर्ब नाघिसकेको छ । उनीसँग टेस्लाको २० प्रतिशत सेयर छ ।

एक वर्षमा टेस्लाको बजार पुँजीकरण कसरी आकाशियो त ?

कम्पनीको सेयरको भाउ आकाशिनुको एउटा कारण लगानीकर्ताहरुले विद्युतीय सवारीसाधनको राम्रो भविष्य देख्नु हो । जलवायु परिवर्तन तथा प्रदूषण नियन्त्रणका लागि अहिले विश्वभर नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनको प्रयोग बढाउने नीति विश्वभरका मुलुकहरुले लिएका छन् ।

यस्तो अवस्थामा स्वाभाविकरुपमा लगानीकर्ताको आँखा टेस्लामा पर्‍यो जसको कारण निरन्तर कम्पनीको शेयर भाउ उकालो लाग्यो । टेस्लाको सेयर भाउ उकालो लाग्नुको अर्को कारण हो – कम्पनीका उत्पादनमा प्रयोग हुने नयाँ फिचर्स तथा डिजाइन हुन् । टेस्लाले आफ्ना कारहरु प्रविधिमैत्री बनाउनुका साथै प्रयोगकर्तामैत्री पनि बनाउँदै ल्याएको छ । जसको कारण धेरैको आकर्षण पनि अहिले टेस्लाको कारमा देखिएको छ । जसले टेस्लाको सेयर भाउ बढाउन सहयोग पुग्यो ।

टेस्लाको उदयमा सबैभन्दा ठूलो योगदान कम्पनीका सीईओ एलन मस्कको नयाँ आविष्कारको सोचकै छ । उनले ल्याएका योजनाहरु पछिल्लो समय बजारमा प्रभावकारी पनि देखिएका छन् । जसको प्रतिफल शेयरको भाउमा देखिएको छ । विद्युतीय कार निर्माताको सेयर भाउ बढ्नुको अर्को महत्वपूर्ण कारण सवारीमा प्रयोग गरिने ब्याट्रिको भाउ घट्नु पनि हो । ब्याट्रिको भाउ सस्तो हुँदै गएसँगै टेस्लाका सवारीसाधनहरु पनि सस्तो हुँदै गए । त्यसैले मानिसहरुको चासो विद्युतीय सवारीसाधनमा पर्‍यो । टेस्लाले ल्याएका मोडल एस, मोडल वाई, मोडल एक्स र मोडल ३ जस्ता कारहरु धेरैको रोजाइमा पर्‍यो । जसको कारण बजारमा स्थापित भइसकेका ब्राण्डहरुलाई पनि टेस्लाले पछि पार्न सहयोग गर्‍यो ।

टेस्लाले परम्परागत महँगो मूल्यको कारबाट यात्रुमैत्री बनाउन आफ्नो मोडल ३ कार ल्याएको थियो । यो कारको मूल्य अन्य मोडलका कारको तुलनामा झण्डै आधा तोकिएको थियो । यसको उल्लेख्य माग आयो । त्यसपछि कम्पनीले उत्पादनको लागि पनि महत्वाकांक्षी योजना राख्यो । तर सुरुआती दिनमा लक्ष्यअनुसारको उत्पादन हुन सकेन । सोही क्रममा कम्पनी समस्यामा परेको थियो । समस्याकै बीचमा कम्पनीका सीईओ मस्कले एप्पलालाई आफ्नो कम्पनी करिब ६० अर्ब डलरमा बिक्रीको प्रस्ताव गरेको हालै मात्र मस्कले बताएका छन् । यद्यपि एप्पलले टेस्लामा इच्छा देखाएन । टेस्लाले पनि बिस्तारै आफ्नो लक्ष्य अनुसारको उत्पादन थाल्यो र परिणामस्वरुप कम्पनीको सेयर पनि उकालो लाग्दै गयो ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने टेस्लाको भाउ गत वर्षसम्म एकैनासले वृद्धि हुँदै आएको देखिन्छ । तर महत्वाकांक्षी मानिएको मोडल ३ को समस्या पार लगाउनु कम्पनीको लागि ‘टर्निङ प्वइन्ट’ बन्न पुग्यो । यससँगै टेस्लाले आफ्नो उत्पादन अमेरिकाभन्दा बाहिर पनि सुरु गर्‍यो । यसै क्रममा कम्पनीले चीनमा पनि आफ्नो फ्याक्ट्रि सञ्चालनमा ल्याएको थियो । सन् २०२० को सुरुआतमा नै टेस्लाले कम्पनीको लागि सन् २०१९ ‘टर्निङ प्वाइन्ट’ बनेको घोषणा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment