+
+
Shares

जम्मा चार दिन बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १५:१६

२६ पुस, काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको थियो ।

जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बसेको छ । बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।

राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु यसअवधिमा राष्ट्रियसभामा पेस भएका छन् ।

संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश अधिवेशन नचलेको अवस्थामा राष्ट्रपतिबाट जारी गरिएका थिए ।

अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र आइतबार राष्ट्रिसभा बैठकमा वाचन गरेर सुनाइएको छ । पत्रमा आइतबार राति १२ बजेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख छ ।

मन्त्रिपरिषदको आइतबारै बसेको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को बैठक बस्नै पर्ने कानुनी बाध्यतासमेत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?