Comments Add Comment

उपभोक्ताबाटै लिटरमा थप ५० पैसा असुल्ने पेट्रोलियम व्यवसायीको घोषणा, कमिसन बढाउँछौं : निगम

२७ पुस, काठमाडौं । कमिसन नबढाएको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क असुल गर्ने निर्णय गरेको छ ।

कमिसन बडढाउन आयल निगमलाई पटक-पटक आग्रह गरिएपनि कमिसन वृद्धिको निर्णय नगरिएपछि माघ एक गतेबाट लागू हुने गरी उपभोक्ताबाटै प्रतिलिटर ५० पैसाका दरले अतिरिक्त रकम असुल गर्ने निर्णय गरिएको एशोसिएसनले जनाएको छ ।

मासिक ६१ हजार लिटर देखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यावसायीलाई पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन बढाउनुपर्ने व्यवसायीहरुको माग छ ।

एक लाख २० हजार देखि एक लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३.४० र डिजेलमा ३.१२ प्रतिशतले कमिसन बढाउनुपर्ने एसोसियसनको माग छ ।

हरेक दुई वर्षमा व्यवसायीहरुको कमिसन वृद्धि गर्नु पर्नेमा निगमकै सहभागितामा गठित अध्ययन कार्यदलले समेत गरेको सिफारिस लत्याइएको व्यवसायीहरुको आरोप छ । माघ एक गतेदेखि उपभोक्ताबाट थप शुल्क असुल्दा उत्पन्न हुने असहज स्थितिको जिम्मा निगमले लिनुपर्ने पनि एशोसिएसनले जनाएको छ ।

तीन वर्षअघि नै कमिसन बढाउन निगमलाई पेश गरेको प्रतिवेदनअनुसार ‘लगानी तथा ऋण’ र ‘आय व्यय हिसाब’ र प्रशासनिक खर्चहको विवरणअनुसार कमिसन बढाउन पेश गरेको प्रतिवेदन कार्यन्वयन गर्न निगमले अटेर गरेको एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । देशभर १५६१ पेट्रोलियम व्यवसायी छन् ।

पाँच वर्षदेखि व्यवसायीले यो मुद्धा उठाई राखेपनि समझदारी हुन नसकेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

‘बिक्रेताहरुको दायित्व थपिएको कुरा जायज छ, कमिसन पनि पुनर्बिचार हुन्छ, तर उपभोक्ताबाट अतिरिक्त पैसा असुल गर्छु भन्नु जायज होइन,’ कार्यकारी निर्देशक पौडेलले भने ।

सरकारले बढीमा प्रतिलिटर ३५ पैसासम्म दिनसक्ने प्रस्ताव गरेपनि व्यवसायीहरुले ५० पैसा कमिसन पाउनुपर्ने दाबी नछोडेको उनको भनाइ छ ।

निगमको साधारण सभामा व्यवसायीको मागको सम्बन्धमा छलफल हुने र उचित निर्णय हुनसक्ने पौडेलले बताए । हाल व्यवसायीहरुले पेट्रोलमा प्रतिलिटर ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन लिंदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment