Comments Add Comment

छुवाछुत र बालविवाह रोक्न प्रहरीको तीन महिने अभियान

२७ पुस, बुटवल । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने छ ।

अभियान आउँदो चैत महिनाको अन्त्यसम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्ला प्रहरी कार्यालय र ५३ वटा इलाका प्रहरी कार्यालय गरी ६५ वटा प्रहरी कार्यालयबाट सञ्चालन गरिने र यो अभियानको अवधिभर कम्तिमा ३ सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए । जातीय छुवाछुत र बालविवाहका घटना भएमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ । ‘जातीय छुवाछुत र बालविवाह न्यूनीकरणका विषयमा शून्य सहनशिलता कायम गर्न अभियान सञ्चालन गरिएको हो’–प्रवक्ता बैदवारले भने ।

यसैगरी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध पनि विशेष अभियान सञ्चालन गरेको छ ।

फागुनसम्म चल्ने अभियानले सार्वजनिक यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्ने र यौनजन्य दुर्व्यवहार न्यूनिकरण गर्ने अपेक्षा गरिएको प्रवक्ता बैदवारले बताए । अभियान अन्तर्गत प्रदेश, जिल्ला र इलाका गरी १२० वटा प्रहरी युनिटबाट प्रत्येक महिना दुई वटाका दरले ७ सय २० वटा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment