Comments Add Comment

झापामा दुई प्रदेशसभा सदस्य वामदेवको अभियानमा

२७ पुस, विराटनगर । प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना प्रदेशसभा सदस्य एकता अभियानमा लागेका छन् ।

नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएसँगै प्रदेश १ का सांसदहरु तानातानमा छन् । ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई आफ्नो सरकार जोगाउने प्रयासमा छन् भने प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूह पनि बहुमत जुटाउने प्रयासमा छन् ।

दुई प्रदेशसभा सदस्य भने वामदेव गौतमतिर लागेका छन् । पार्टी विभाजनपछि प्रचण्ड माधव समूहमा नलागेका गौतमले शनिबार मात्र आफ्नै संयोजकत्वमा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

गौतमले सुरु गरेको एकता अभियानमा झापाका दुई जना प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली  जोडिएका छन् । बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन अपील समेत गरेका छन् ।

केन्द्रमा दुई लाइन देखिएपनि पार्टी वैधानिक रुपमा नफुटेका कारण केन्द्रलाई दबाव दिने उदेश्यले एकताका लागि आह्वान गरेको बुढाथोकीले बताए । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै उनले मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा थप कुनै निर्णय नभएको बताए ।

बुढाथोकीलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो, तर उनले त्यसलाई अस्वीकार गरे । लगतै मुख्यमन्त्रीविरुद्ध प्रचण्ड माधव समूहले दर्ता गरेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर अब वामदेवतिर लागेका छन् ।

दुई सांसदले छाडे प्रचण्ड–माधवको साथ

यसैबीच मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दुई प्रदेशसभा सदस्य ओली समूहमा आएका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी कला घले र मोरङकी बसन्तीदेवी यादव ओली समूहमा लागेका हुन् । घले प्रत्यक्ष निर्वाचित हुन् भने यादव समानुपातिक सांसद हुन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ नेकपाका मात्रै ६७ जना छन् । उनीहरुमध्ये ४७ जना आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव समूहको दाबी थियो । तर कृषि राज्यमन्त्री राम रानाले कित्ता परिवर्तन गरे भने ९ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मानेनन्/चाहेनन् ।

अविश्वासको प्रस्तावमा ३७ जनाले मात्रै हस्ताक्षर गरेका थिए । उनीहरूमध्ये पनि कला र बसन्तीदेवीले ओली समूहमा आएका छन् भने बुढाथोकी र मैनाली एकता अभियानतिर लागेका छन् ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment