
२८ पुस, काठमाडौं । अमेरिकाले जर्मनी र फ्रान्सबाट आउने विमानका पार्टस् र अन्य उत्पादनमाथि अतिरिक्त भन्सार शुल्क उठाउन थालेको छ । युरोपेली संघ (ईयू)सँगको १६ वर्षको सहुलियतको विवाद नमिलेसँगै अमेरिकाले जर्मनी र फ्रान्सबाट आउने विमानका पार्टस् तथा अन्य सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय गरेको थियो ।
युरोपेली विमान निर्माता एयरबसलाई सहुलियत दिएको विषयमा अमेरिकाले आपत्ति जनाउँदै आएको थियो । अमेरिकाले पनि घरेलु विमान निर्माता बोइङलाई सहुलियत दिँदै आएको छ ।
अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयले दिएको जानकारीअनुसार अमेरिकामा जर्मनी र फ्रान्सबाट आउने विमान पार्टस्मा १५ प्रतिशत र केही मदिरामा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लाग्नेछ । अमेरिका र ईयूबीच यो मुद्दालाई समाधानको लागि प्रयास भए पनि निष्कर्षमा भने पुग्न सकेको थिएन ।
यसअघि विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले ईयूबाट आउने सात अर्ब ५० करोड डलरको सामग्रीमा अतिरिक्त भन्सारको लागि अमेरिकालाई अनुमति दिएको थियो । त्यस्तै सोही प्रकृतिको मुद्दामा अमेरिकाबाट आउने चार अर्ब डलरको सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाउन ईयूलाई पनि अनुमति दिएको थियो ।
ईयूले अमेरिकाको आगामी राष्ट्रपति जो बाइडनको प्रशासनसँग यस विषयमा वार्ता गरेर समस्या समाधानको प्रयास गर्ने बताएको छ ।
प्रतिक्रिया 4