Comments Add Comment

बर्ड फ्लु भित्रन नदिन पर्सामा उच्च सतर्कता

२९ पुस, वीरगञ्ज । भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पर्सा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । १ सय ७ किलोमटिर खुल्ला सीमाना रहेको पर्सामा वैध तथा अवैध दुवै हिसाबले पन्छी र पन्छीजन्य पदार्थ भित्रिने गरेको छ ।

बर्ड फ्लु भित्रिन नदिन सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । भारतबाट आउने पन्छी र पन्छीजन्य सबै वस्तु नेपाल ल्याउनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

‘पन्छी र पन्छी जन्य बस्तु मासु, अण्डा आयात निर्यातमा रोक लगाएका छौं, पशु, भेटनरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको संयुक्त टोलीले गस्ती तथा अनुगमन गर्ने व्यवस्था मिलाएका छौं,’ प्रजिअ तामाङले भने, ‘ बोर्डर क्षेत्रमा भारतबाट मासु आउने भन्ने जानकारी हामीसँग छ, त्यसको सघन अनुगमन गर्ने त्यस्तो पाइएमा तत्काल नियन्त्रणमा लिन निर्देशन दिइसकेको छु् ।’

बर्ड फ्लुका बारेमा सञ्चारमाध्यमबाट प्रचार प्रसार गरेर सचेतना फैलाउने निर्णय पनि सरोकारवालाको बैठकले गरेको छ । विशेष गरि सीमा क्षेत्रमा भारतबाट पन्छी तथा पन्छीजन्य बस्तुहरु ल्याएर बिक्री हुने गरेकोले कडाइका साथ अनुगमन गर्न निर्देशन दिइएको प्रजिअ तामाङले बताए ।
‘मासु कहाँबाट आयो ? त्यसको बिल खोज्ने लगायतका कार्य सुरु गरिसकेका छौं,’ उनले भने, ‘ भारतबाट ल्याएको पाइएमा जफत गरेर नष्ट गर्न भनेका छौं ।’

बर्ड फ्लु नियन्त्रण आदेश २०६४ अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बर्ड फ्लु नियन्त्रण प्राविधिक समिति रहन्छ । पुस २६ गते आईतबार नै समितिको बैठक बसेर आवश्यक निर्णयहरु भइसकेको छ ।

वीरगञ्जस्थित पशु क्वारेन्टिन कार्यालयले पर्सा, बारा र रौतहट गरी तीन वटै जिल्ला हेर्ने गर्छ । कार्यालय अन्तर्गत वीरगञ्जको सिर्सिया, बाराको मटिअर्वा र रौतहटको अरैयामा चेक पोष्ट र बाराको पथलैयामा आन्तरिक चेक पोष्ट छ । सबै चेकपोष्टहरुलाई सतर्क रहन निर्देशन दिइसकेको कार्यालयले जनाएको छ ।

खुल्ला सिमाका कारण चेक पोष्ट बाहेकका ठाउँबाट कुखुरा, अण्डा, चल्ला, कुखुराको मासु भित्रिने गरेको छ । त्यसलाई रोक्नका लागि दिनहुँ सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यवसायीहरु समेतको सहभागितामा दिनहुँ गस्ती गरिरहेको पशु क्वारेन्टिन कार्यालय वीरगञ्जका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिए ।

नेपालमा भन्दा सस्तोमा पाईने हुँदा व्यापारीहरुले ब्रोईलर कुखुरा, कुखुराको मासु, अन्डा लगायत भारतबाट ल्याएर बिक्री गर्ने गरेका छन् । भारतबाट कुखुरा, कुखुराको मासु, अण्डा ल्याउन रोक लगाउन र सेतो अन्डा भेटिने वित्तिकै नष्ट गर्न सुरक्षाकर्मीहरुलाई समेत निर्देशन गरिएको छ ।

‘अनुगमनका क्रममा भारतबाट पन्छी तथा पन्छीजन्य मासु, अण्डा भेटिएमा जफत गर्छो, सर्वसाधरणलाई नेपालमै पालिएको कुुखुराको मासु र अण्डा खान आग्रह गरिरहेका छौं,’ प्रमुख डाक्टर यादवले भने, ‘कुनैपनि हालतमा बर्डफ्लु नेपालमा भित्रिन नपाओस भनेर लागि परेका छौं ।’

अनुगमनमा जाँदा सिमा क्षेत्रमा रहेको प्रहरी चौकीहरु र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टहरुमा कार्यरत सुरक्षाकर्मीहरुलाई समेत बर्ड फ्लुको बारेमा जानकारी गराउने र उनीहरुलाई कुनैपनि हालतमा भारतबाट कुखुरा, अण्डा र मासु भित्रन नदिन आग्रह गर्ने गरिएको प्रमुख यादवले बताए ।

हालसम्म संयुक्त अनुगमन टोलीले वीरगञ्जको मुसहर्वा, इनर्वा, अलौ क्षेत्र तथा ग्रामीण क्षेत्रमा भिश्वा, जानकीटोला, झौवा, पकाहामैनपुर, पोखरिया क्षेत्रको अनुगमन गरिसकेको छ ।

अनुगमनको क्रममा छिपरहरमाई गाउँपालिकाको भिस्वा बजार र जगरनाथपुर गाउँपालिकाको जानकारी टोला बजारमा भारतीय अन्डा बिक्री हुने गरेको पाइएको छ ।

संयुक्त अनुगमन टोलीले ३५ क्रेट अन्डा र केही कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिखमपुरले जनाएको छ ।

त्यसैगरी प्रहरी कार्यालय पोखरियाले दिनहुँ भारतबाट अवैध रुपमा ल्याइएको कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिरहेको छ । जानकीटोला हुँदै ल्याउँदै गरेको २८ वटा र हिजो झौवाबाट बरामद गरिएको २५ वटा कुखुरा नष्ट गरिएको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

भारतीय सिमावर्ती बजारहरुबाट साईकल तथा मोटरसाईकलमा राखेर अवैध रुपमा कुखुरा भित्र्याउने गरिन्छ । भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्ड फ्लुका कारण कुखुरा तथा पुशपन्छी मरेको पुष्टि भइसकेको छ । बर्ड फ्लु देखिएका ती राज्यमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाइएको छ । भारतको हिमाञ्चल प्रदेशको पोङ् ड्येम क्षेत्रमा धेरै पन्छी बर्ड फ्लुका कारण मरेको सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment