Comments Add Comment

आपतकालीन प्रयोगको लागि अनुमति पाएका खोप ल्याउन दर्ता आह्वान

२९ पुस, काठमाडौं । कोभिड -१९ विरुद्ध खोपको आपतकालिन प्रयोगका लागि भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन औषधि व्यवस्था विभागले आह्वान गरेको छ ।

विभागले बुधबार एक सूचना जारी गर्दै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो । कोभिडविरुद्धको खोप ल्याउन सजिलो होस् भनेर यसअघि नै सरकारले औषधि ऐनलाई संशोधन गरेको थियो ।

गत मंसिर ४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन् । अध्यादेश जारी भएसँगै कोरोना विरुद्धको खोप भित्र्याउन र आपतकालीन प्रयोजनका लागि जुनसुकै खोप र औषधि प्रयोग गर्न सकिने बाटो खुलेको थियो ।

विभागको सूचनामा आयात गर्नका लागि औषधि ऐन २०३५ (तेस्रो संसोधन सहित) को दफा ९ (क) को कार्यान्वयनको लागि विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपतकालिन प्रयोगको लागि दर्ता गर्न सकिने भनेको छ ।

महानिर्देशक भरत भट्टराईका अनुसार कुनै पनि नयाँ खोप या औषधि नेपालमा भित्राउन विभागमा दर्ता गर्नुपर्छ । सोही कारण भ्याक्सिन ल्याउन चाहने आयातकर्ताहरुलाई आफूले ल्याउन चाहेको भ्याक्सिनको सम्पूर्ण विवरणसहित दर्ता प्रकियामा सहभागी हुन आवहान गरिएको हो ।

यो दर्ता प्रकियामा भ्याक्सिन ल्याउन चाहने निजी आयातकर्ता र स्वास्थ्य सेवा विभाग अनिवार्य रुपमा सहभागी हुनसक्छन् ।

आयातकर्ताको छनौट उनीहरुको कागजपत्र र भ्याक्सिनको विवरण हेरेर गरिनेछ । नियामक निकायले आपतकालीन प्रयोगको लागि अनुमति नदिएको भ्याक्सिनलाई दर्ता गर्न नदिने विभागका निर्देशक भट्टराई बताउँछन् ।

यसअघि गम्भीर किसिमको कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर एण्टी भाइरललाई पनि यही प्रकिया अन्तर्गत दर्ता गरिएको थियो । अमरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले आपतकालीन प्रयोजनको लागि अनुमति दिएकाले नेपाल लगायत अन्य देशमा रेमडिसिभिरको क्लिनिकल ट्रायल गरिएको थियो । त्यो बेला रेमडिसिभर नेपाल राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद मार्फत निशुल्क वितरण गरिएको थियो ।

विभिन्न देशबाट विभिन्न कम्पनीले आयात गरेको भ्याक्सिन वितरणको निर्णय भने मन्त्रीपरिषदले गर्ने भट्टराई बताउँछन् । उनका अनुसार दर्ता प्रकिया खुलाउनु भनेको भ्याक्सिन ल्याउने बाटो खुलेको मात्र हो ।

‘अहिले भ्याक्सिन ल्याउन बाटो खुलाइएको मात्र हो ‘ भट्टराईले भने, ‘आयातकर्ता कम्पनीहरुले जुन पायो त्यही कम्पनीको खोप ल्याएर आफूखुसी वितरण गर्ने भन्ने हुँदैन, त्यसको निर्णय मन्त्रिपरिषदले गर्नेछ ।’

गत सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप निःशुल्क वितरण गर्ने बताएका थिए । उक्त कार्यक्रम मार्फत उनले निजी कम्पनीलाई पनि खोप आयातमा संलग्न गराउने बताएका थिए ।

विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनशाय राखेका उत्पादक वा सो का आधिकारिक आयातकर्ताहरुले सम्वन्धित उत्पादकको तर्फबाट आवश्यक कागजातसहित विवरण खुलाई खोपको आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि निवेदन दिन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार कोभिड १९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालिन प्रयोगसम्बन्धी संहिता २०७७ र कोभिड १९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोगसम्वन्धी अवधारणापत्रलाई आधार मानिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment