Comments Add Comment

रेन्टुरेन्टमा बस्दा पासवर्ड मागिहाल्ने बानी छैनः कुलेन्द्र विश्वकर्मा

कुलेन्द्र विश्वकर्मा नेपाली लोकदोहोरी क्षेत्रमा जमेका गायक हुन् । ‘नजाउ है सानु पँधेरीमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘डाँडै फुर्के सल्लो’, ‘सालको पात टपरी’ जस्ता दर्जनौ चर्चित गीतका गायक कुलेन्द्रसँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यसप्रकार छः

बिहान कति बजे उठ्नुहुन्छ ?
७ बजे उठ्छु ।

उठेपछि के गर्नुहुन्छ ?
रियाज गर्छु । त्यसपछि कामतिर लाग्छु ।

ब्रेकफाष्ट, चिया पिउनुहुन्न ?
चिया पिउँछु । खाना चाँडै खाँदा ब्रेकफाष्ट लिने बानी छैन ।

घरको काम कत्तिको गर्नुहुन्छ ?
घरको काम गरिरहेको हुन्छु । काठमाडौंमा घरायसी काम भनेर त्यस्तो खासै हुँदैन । खाना पकाउने काम समय मिलेसम्म गर्छु ।

आजको कार्यक्रम के छ ?
धेरै वर्षपछि यसवर्ष माघे संक्रान्तिमा खाली छु । विगतका वर्षहरुमा स्टेजमा गीत गाउन पुगेको हुन्थेँ ।

माघें संक्रान्ति भन्ने वित्तिकै के कुरा सम्झनुहुन्छ ?
तरुल सम्झन्छु । गाउँमा हुँदा बन तथा घरमै तरुल खनेर खाइन्थ्यो । पिँडालु, सखरखण्ड खाइन्थ्यो । यहाँ बजारमा पनि ति कुराहरु पाइन्छ । तर, माघें संक्रान्तिमा गाउँको सम्झना बढी आउँछ ।

माघी मेलाको अवसरमा धेरै जिल्लाहरुमा जानुभयो, कहाँको सम्झना बढी आउँछ ?
पछिल्ला हरेक वर्ष विभिन्न जिल्लाहरुमा पुगेँ । सुर्खेत, सल्यान, तराईका विभिन्न जिल्लाहरुमा गएँ । विशेषगरि पश्चिम, सुदुरपश्चिमतिर जादा माघीको उपलक्ष्यमा अर्गानिक परिकारहरु खुवाउनुहुन्थ्यो । थारु समुदायमा जाँदा थारुका परिकारहरु खाएको सम्झना आउँछ ।

काठमाडौंमा हुँदा दिनमा कतिजनासँग भेट हुन्छ ?
त्यही ५–७ जनासँग हुन्छ ।

स्कूल कलेजका साथीहरुलाई भेट्नुहुन्छ ?
एक–दुईजना साथीहरु मात्र छन् काठमाडौंमा । अरु कताकता छन् । सबै आफ्नो व्यवसायतिर लागेका छन् । यसैले खास भेट हुँदैन ।

दिनमा खर्च कति हुन्छ ?
गर्यो भने हुन्छ, गरेन भने हुँदैन । कहिलेकाही २–४ सय, कहिलेकाही १ हजार पनि हुन्छ ।

सामाजिक सञ्जालतिर कत्तिको अपडेट हुनुहुन्छ ?
खासै छैन । तर, कहिलकोही हेर्न मन लाग्छ ।

टिकटक पनि चलाउनुहुन्छ ?
एकाउण्ट खोलेको छु । तर धेरै चलाउँदिन । अरु कलाकारहरुले दिनकै अपडेट गरिरहनुभएको हुन्छ । म त्यस्तो छैन ।

फेसबुक कति समय चलाउनुहुन्छ ?
फुर्सद भयो भने चलाउने हो । बाहिर भएको बेला खासै चलाउँदिन । घरमा बसेको बेला हेर्छु । कतै रेष्टुरेण्टमा बस्यो भने पासवर्ड मागिहाल्ने बानी छैन ।

फुर्सदको समयमा के गर्नुहुन्छ ?
फुर्सदको समय गीतसंगीतमै बिताउने गर्छु । गीत गाउने, हार्मोनियममा बस्ने, कहिलेकाही आफूलाई मन परेको पुस्तकहरु पढ्ने गर्छु । बालबच्चासँग समय वितिरहेको हुन्छ । बालबच्चा भएपछि समय विताउन त्यति गाह्रो नहुने रहेछ ।

घुम्न कत्तिको रुचाउनुहुन्छ ?
रुचाउँछु तर एकदमै कम जान्छु । कार्यक्रममा हिडिरहने हुँदा धरै ठाउँहरु पुगिन्छ । तर, आफै योजना बनाएर घुम्ने बानी खासै छैन ।

काठमाडौंमा दिक्क लाग्ने कुरा ?
मलाई काठमाडौंको सबै कुराहरु मनपर्छ, किनभने यो मेरो कर्मथलो होे । काठमाडौंमा मलाई धेरै मान्छेहरु देख्दा पनि रमाईलो लाग्छ, धेरै सवारीको चाप देख्दा पनि रमाईलो लाग्छ ।

यो सुधार भैदिए हुन्थ्यो भन्ने लाग्दैन ?
राजधानी भएकोे हिसावले फोहोर ब्यवस्थापन, सडक सुधार भए राम्रो हुन्थ्यो ।

प्रस्तुतिः सुशिल नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment