Comments Add Comment

नयाँ सहकारी बैंक स्थापना हुने, प्रारम्भिक भेला बोलाइयो

१ माघ, काठमाडौं । नयाँ सहकारी बैंक स्थापना हुने भएको छ । हाल राष्ट्रिय सहकारी बैंक सञ्चालनमा रहेको छ । यसको विकल्पमा नयाँ सहकारी बैंक स्थापना गर्न गृहकार्य थालिएको हो ।

नयाँ सहकारी बैंकको नाम नेपाल सहकारी बैंक प्रस्ताव गरिएको छ । बहुदेश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले नयाँ बैंक स्थापनका लागि गृहकार्य तीव्र पारिएको जानकारी दिए । उनका अनुसार दर्ता प्रकृया सुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा बोलाइएको छ ।

मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैक स्थापना गर्न प्रकृया अघि बढाइएको उनले बताए । उनका अनुसार भेला पश्चात विभागमा दर्ता प्रकृया गर्ने र राष्ट्र बंैकबाट स्वीकृत लिने प्रकृया अघि बढाइने छ ।

सहकारी बैंक दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । ती मध्य हालसम्म करिब एक हजार संस्थाले दर्ता प्रकृयामा सहभागी हुने बताएका छन् । सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ । बैंक स्थापना हुन आवश्यक भन्दा बढीनै फाइल संकलन भइसकेको भण्डारीले बताए ।

प्रारम्भिक चरणमा बैंकको सेयर पुँजी ३ अर्ब रुपैयाँ हुने उनले बताए । सहकारी ऐन-२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक सञ्चालनमा छ । तथ्याङ्कअनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् ।

बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने ब्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नयाँ बैक स्थापना प्रकृया अघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बैकले नेपाल राष्ट बैकबाट बैकिंङ अनुमति पाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment