Comments Add Comment

आठ महिनापछि चीनमा कोरोनाबाट एकजनाको मृत्यु

१ माघ, काठमाडौं । चीनमा आठ महिनापछि कोरोना भाइरस (कोभिड–१९) बाट एकजनाको मृत्यु भएको बताएको छ । पछिल्लो समय चीनमा कोरोना संक्रमण बढिरहेको समयमा  बिहीबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको हो । चीनमा अहिले कोरोना संक्रमण १० महिनाकै उच्च अवस्थामा पुगेको छ ।

यसैबीच चीनको वुहान सहरमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको छ । सबैभन्दा पहिला कोरोना संक्रमण फैलिएको यो सहरमा कोरोना उत्पत्तिको विषयमा अनुसन्धानको लागि डब्ल्यूएचओको टोली चीन पुगेको हो । यसअघि चीनले विभिन्न कारण देखाउँदै टोलीलाई चीन भ्रमणमा रोक लगाउँदै आएको थियो ।

अहिले चीनले आफ्नो उत्तरी क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणका लागि दुई करोड मानिसको बसोबास रहेको क्षेत्रमा लकडाउनको घोषणा गरेको छ भने एक प्रान्तमा आपतकालीन अवस्थाको घोषणा गरेको छ । चीनले मुलुकभर लकडाउनको घोषणा गर्दै कोरोना संक्रमण नियन्त्रण गरेको थियो । यद्यपि बिहीबार चीनको स्वास्थ्य नियामकले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३८ नयाँ संक्रमित भेटिएका थिए ।

सिन्ह्वाका अनुसार चीनमा अहिले कम्तीमा ८८५ संक्रमितले उपचार लिइरहेका छन् । जसमध्ये २४ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म चीनमा चार हजार ६३५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment