Comments Add Comment

राष्ट्रिय गौरवका विमानस्थल आयोजनामा भीआईपीको दौडधुप, प्रगति जहाँको तहीँ

२ माघ, काठमाडौं । बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निर्देशन दिए, ‘अब कुनै पनि बाहनाबाजीमा आयोजनामा ढिलाइ नहोस् ।’

यसअघि २१ मंसिरमा निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराई सोही आयोजनाको स्थलगत अनुगमनमा पुगेका थिए । त्यसबेला उनले निर्देशन दिँदै भनेका थिए, ‘अबको २५ दिनभित्र आयोजनाको काम पूरा गर्नुहोस् ।’

रोचक तथ्य के छ भने योगेश भट्टराई पुगेको डेढ महिनापछि भैरहवा विमानस्थल पुग्दा आयोजनाले उपलब्ध गराएको प्रगति विवरणमा एक प्रतिशतसमेत प्रगति छैन । अर्थात् यो विमानस्थलको भौतिक निर्माणको प्रगति ९३ प्रतिशत पुगेको छ र केही समययता यही प्रगतिमा रोकिएको छ ।

मन्त्री ढकालसमक्ष आयोजना प्रमुख प्रवेश अधिकारीले गरेको ब्रिफिङ अनुसार कोरोनाका कारण रोकिएका कामदार आउने क्रम सुरु भएको छ । जसले गर्दा रोकिएको उपकरण जडानको काम भने सुरु भएको छ ।

यद्यपि पछिल्लो समय भीआईपीहरुको स्थलगत अनुगमनमा जाने फेसनभन्दा बढी यो आयोजनाले सहजीकरणको अपेक्षा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । दलबल लिएर अनुगमनका नाममा भ्रमणमा निस्किरहनु भन्दा समस्यालाई सुक्ष्म केलाएर राजनीतिक नेतृत्वले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

 

खासगरी कोरोना खोप उपलब्ध नभएसम्म वैदेशिक सहायतामा अगाडि बढेका आयोजनामा विदेशबाट कामदार ल्याउन सकिएको छैन । यसले आयोजनाहरुको काम प्रभावित भएको छ । यसमा भैरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत एक हो । चीन र थाइल्याण्डबाट दक्ष प्राविधिक कामदार आउन नसक्दा आयोजनाको काम प्रभावित बनेको हो ।

मन्त्री ढकालले भने कुनै समस्या आइपरे तत्काल समस्या समाधानको पहल गर्ने आश्वासन आयोजनालाई दिएका छन् । पछिल्लो समय ३० डिसेम्बर २०२० मै सकिनुपर्ने यो आयोजनामा अब अन्तिम चरणका काम बाँकी छन् जसमा उपकरण जडान मुख्य हो । प्राधिकरणका अनुसार भौतिकतर्फको काम सकिनासाथ कर्मचारी व्यवस्थापनको काम हुनेछ । यसका साथै आयोजना व्यवस्थापन-सन्चालनका लागि विदेशी साझेदार कम्पनी भित्राउन समेत तयारी शुरु भइसकेको छ ।

उता, ढकाल बिहीबार भने पोखरा विमानस्थलको अनुगमनमा पुगेका छन् । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुगी आयोजना प्रमुखसँग प्रगतिको जानकारी लिएको उनको सचिवालयले जनाएको छ । पोखरा विमानस्थल तुलनात्मक रुपमा कम प्रभावित छ । यसै वर्ष जुलाईमा निर्माण सक्ने भनिएको यो आयोजनाको अहिले ६३ प्रतिशत भौतिक प्रगति भएको छ ।

त्यसो त, उत्तिकै प्राथमिकता दिएको भनिए पनि अर्को राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलमा भने योगेश समेत सफल हुन सकेनन् । स्थान छनोट भएको २५ औं वर्षमा आयोजनाको शिलान्यास गरिछाड्ने घोषणा गरेका उनको १७ महिने कार्यकालमा निजगढ विमानस्थलमा देखिने गरी कुनै प्रगति भएन ।

पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै अहिलेका पर्यटन मन्त्री ढकालले समेत सरोकारवालासँग एक चरण छलफल गरिसकेका छन् । प्रधानमन्त्रीको अध्यक्षमा रहने लगानी बोर्डबाट समेत लगानी जुट्न नसकेको यो आयोजना निर्माणका अनेकौं बाधा र समस्या समाधान गरी कार्यान्वयनयोग्य आयोजनामा लैजाने चुनौती ढकाल सामु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment