+
+
Shares

विदुरका २ सय परिवारलाई रोटरीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विदुर नगरपालिकाका बाढी पीडित २०० परिवारलाई रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ हिमालयन गल्फर्स र मातृका आई केयरले भान्साका सामग्री हस्तान्तरण गरेका छन् ।
  • रोटरी टोलीले विदुर नगरपालिका–४ मा करिब ३०० परिवारलाई खानेपानी पुर्‍याउने डीप बोरिङ परियोजनाको स्थलगत निरीक्षण गरेको छ ।
  • रोटरी इन्टरनेसनलले हाल सरसफाइ र जनस्वास्थ्यका लागि २० वटा अस्थायी शौचालय जडान गरिरहेको र २०० वटा जडान गर्ने योजना बनाएको छ ।

८ असोज, नुवाकोट । विदुर नगरपालिकाका बाढी पिडित परिवारलाई लक्षित गर्दै रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ हिमालयन गल्फर्स र मातृका आई केयरको संयुक्त समन्वयमा २०० परिवारका लागि आवश्यक भान्साका सामग्री हस्तान्तरण गरिएको छ ।

रोटरी इन्टरनेसनलका डाइरेक्टर इलेक्ट बासुदेव गोल्यान र रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले संयुक्त रूपमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए ।

सहयोगअन्तर्गत प्रत्येक परिवारका लागि ग्यास चुलो, रेगुलेटर तथा पाइप, प्रेसर कुकर, प्लेट, गिलास, कचौरा, डाडु र पन्युलगायतका भान्साका सामग्री उपलब्ध गराइएको छ ।

हस्तान्तरण कार्यक्रममा रोटरी इन्टरनेसनलका डाइरेक्टर इलेक्ट बासुदेव गोल्यानले रोटरीले सामाजिक आवश्यकता पहिचान गरी स्थानीय समुदायसँगको सहकार्यमा प्रभावकारी परियोजना सञ्चालन गर्दै आएको बताए। उनले स्थानीय तह, रोटरी क्लब तथा अन्य सामाजिक संस्थाबीचको सहकार्यबाट समुदायको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न सकिने उल्लेख गरे ।

रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरीका सामाजिक परियोजनालाई समुदायको प्रत्यक्ष आवश्यकतासँग जोड्दै लैजाने बताए । उनले आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्ने यस्ता परियोजनाले समुदायको जीवनस्तर सुधारमा योगदान पुर्‍याउने धारणा राखे ।

यसै क्रममा टोलीले विदुर नगरपालिका–४ मा प्रस्तावित खानेपानी परियोजनाको स्थलगत निरीक्षणसमेत गरेको छ । करिब ३०० परिवारलाई खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले डीप बोरिङ परियोजना अघि बढाउन लागिएको हो ।

उक्त परियोजनाका लागि आवश्यक पूर्वतयारी, सम्भावित स्थान तथा स्थानीय आवश्यकताका विषयमा टोलीले स्थलगत जानकारी लिएको थियो । परियोजना सम्पन्न भएपछि विदुर–४ का करिब ३०० परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

विपत्‌पछिको पुनर्स्थापना तथा राहत कार्यलाई प्रभावकारी बनाउँदै रोटरी इन्टरनेसनलले दिगो पूर्वाधार निर्माण र सरसफाइका क्षेत्रमा आफ्नो उपस्थिति थप तीव्र बनाएको छ । हाल सरसफाइ एवं जनस्वास्थ्यलाई ध्यानमा राख्दै आधुनिक फिल्टरेशन प्रणालीसहितका २० वटा अस्थायी शौचालयहरू जडान भइरहेका छन् भने आगामी चरणमा कुल २०० वटा अस्थायी शौचालय जडान गर्ने योजनाका साथ काम अघि बढेको छ । आवश्यकता पहिचान र दिगो विकासलाई ध्यानमा राख्दै रोटरीले सहायता परिचालन गर्ने नीति लिएको छ । हालसम्म विभिन्न रोटरी क्लबहरूमार्फत १० करोड रुपैयाँभन्दा बढीको राहत तथा सहयोग सामग्री परिचालन भइसकेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले रोटरीले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे । साथै, आगामी दिनमा पनि दियो विकास र सामाजिक कामका लागि साझेदारी गर्दै अघि बढ्न सकिने बताए ।

भ्रमण तथा सामग्री हस्तान्तरणको समन्वय मातृका आई केयरका अध्यक्ष तथा रोटरी क्लब अफ हिमालयन गल्फर्सका उपाध्यक्ष सुरज श्रेष्ठले गरेका थिए । ‘विपद्को समयमा सबैजना यसरी एकजुट भएर सहयोग गर्न पाउँदा सबैजना उत्साहित छौँ । आगामी दिनमा पनि यसरी नै सहकार्य गर्दै सहयोगलाई निरन्तरा दिनेछौँ ।’ उनले बताए ।

कार्यक्रममा रोटरी इन्टरनेसनलका एआरआरएफसी एमके झासहित रोटरी क्लब अफ हिमालयन गल्फर्स, रोटरी क्लब अफ न्यातपोला, रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ बानेश्वर, रोटरी क्लब अफ पाटन साउथ, रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ नेपाल मण्डल र रोटरी क्लब अफ विराटनगरका प्रतिनिधिको पनि सहभागिता थियो ।

रोटरीको टोलीले समुदायको आवश्यकता र स्थानीय तहसँगको समन्वयका आधारमा आगामी दिनमा पनि सामाजिक तथा मानवीय सहयोगका परियोजनालाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?