Comments Add Comment

मनाङेलाई वामदेवको फोन : एकता अभियानको केन्द्रीय सदस्य राखेँ है !

२ माघ, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वामदेव गौतमले पार्टी एकता अभियान चलाइरहेका छन् । गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङउर्फ दीपक मनाङे वामदेवको एकता अभियानतिर लागेका छन् ।

गत साल असार ११ गते नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताएका थिए । प्रदेश सभामा नेकपालाई दुई तिहाई पुर्‍याउन समर्थन गरेको तर अहिले आफू स्वतन्त्र प्रदेशसभ सदस्य भएको मनाङेको भनाइ थियो ।

अब उनी वामदेवसँग नजिकिएका छन् । गौतमले फोन गरेर एकताको अभियानमा लाग्न आग्रह गरेको र त्यो चित्त बुझेको उनले बताए । ‘वामदेवजीले एउटा टिम बनाउनुभएको रहेछ । मलाई फोन गरेर केन्द्रीय सदस्यमा नाम राखें है भन्नुभयो,’ मनाङेले अनलाइनखबरसँग भने, ‘मैले नेताजी यो त राम्रो कुरा हो भनें ।’

वामदेव निकट स्रोतले पनि मनाङेलाई एकता अभियानको केन्द्रीय समितिमा राखिएको बतायो ।

ओली समूहका मुख्यमन्त्री गुरुङको पक्षमा गण्डकी प्रदेशमा २६ सांसद छन् । उनलाई जनमोर्चाले साथ दिँदा २९ सदस्य पुग्छ । नेकपा विभाजन भएको खण्डमा ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत दिन मुख्यमन्त्री गुरुङलाई सांसद ३१ सांसद चाहिन्छ । गुरुङ स्वतन्त्र सांसदकै रुपमा कायम रहे उनले जुनसुकै पार्टीलाई पनि समर्थन गर्न सक्ने छन् ।

प्रदेशमा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा १३ जना, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment