Comments Add Comment

मन्त्री ज्ञवाली भन्छन् : कोरोना खोपमा भारतले नेपाललाई प्राथमिकतामा राखेको छ

३ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानकारी दिए ।

आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुत पार्न योगदान गर्ने उनले बताए । कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडकको निर्माण भएका खण्डहरु हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी काम छिटो सक्ने सहमति भएको छ ।

बैठकमा रक्सौल-काठमाडौं रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले शीघ्र काम शुरु गर्ने सहमति गरेको छ । महाकालीमा निर्माणाधीन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको उनले जानकारी दिए ।

बैठकमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ । नेपाल-भारत बिचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

नेपाली पक्षले नेपालको निर्यात बढाउने ठोस उपाय अबलम्बन गर्न भारत सरकारलाई अनुरोध गरेको छ । कृषिमा थप सहकार्य गर्ने तथा जी टु जी प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमति लगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment