Comments Add Comment

अलिबाबामाथि अस्तित्वको संकट !

चिनियाँ कम्पनी अलिबाबाका लागि यो वर्ष सबैभन्दा महत्वपूर्ण वर्ष हुनसक्छ । किनकि स्थापना भएको दुई दशकमा अलिबाबाले अहिले सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ ।

चीनको सबैभन्दा चर्चित प्रविधि कम्पनी अलिबाबाले स्वदेशमा मात्र नभै अन्तर्राष्ट्रियस्तरमा समेत थुप्रै चुनौतीहरुको सामना गरिरहेको छ जसले उसको अस्तित्व नै सधैका लागि आधारभूतरुपमा परिवर्तन गरिदिन सक्दछ ।

चिनियाँ अधिकारीहरुले विश्वासघात गरेको अभियोगमा अलिबाबामाथि अनुसन्धान गरिरहेका छन् र यसले अलिबाबाको वित्तिय भगिनी कम्पनी एन्ट ग्रुपलाई उसको व्यवसायमा आमूल परिवर्तन गराउन बाध्य पार्दैछ ।

अलिबाबाका लागि चीन मात्र होइन वाशिङटन पनि खतरा बन्न सक्दछ । ट्रम्प प्रशासनले अलिबाबा र अन्य दुईवटा चिनिया प्रविधि कम्पनीमाथि अमेरिकी लगानीमा प्रतिबन्ध लगाउने प्रस्तावबाट हात झिकेको भए पनि अमेरिका र चीनबीचको तनाव निकट भविष्यमा साम्य हुने सम्भावना छैन ।

र, यावत् घटनाहरुको बीचमा अर्को महत्वपूर्ण घटनाचाहिँ अलिबाबाका संस्थापक तथा सिईओ ज्याक मा महिनौँ देखि ‘बेपत्ता’ छन् ।

नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा हिनरिच फाउन्डेसनका शोधकर्ता एलेक्स काप्रीका अनुसार अन्य ठूला चिनिया प्रविधि कम्पनीहरु जस्तै अलिबाबा पनि अस्तित्वको संकटमा छ ।’

चीनमा बढ्दो दमन

चीनमा कम्पनीहरुमाथि सरकारको बढ्दो नियन्त्रण अलिबाबा कम्पनीका लागि सबैभन्दा ठूलो चासोको विषय भएको शोधकर्ता काप्री बताउँछन् ।

राष्ट्रपति सी जिनपिङले मुलुकका दिग्गज प्रविधि कम्पनीहरुमाथि नियन्त्रणका लागि अधिकारीहरुलाई निर्देशन दिएका छन् । अघिल्लो महिना उनले सन् २०२१ का लागि सबैभन्दा महत्वपूर्ण लक्ष्य भनेकै अनलाइन प्लाटर्फमहरुको एकाधिकारमाथि नियन्त्रण गर्ने कदमलाई ससक्त बनाउनु रहेको र सोही बमोजिम काम अगाडि बढाउन उनले भनेका छन् ।

अलिबाबामाथि एन्टीट्रस्ट अनुसन्धान र अन्य कम्पनीहरुमाथि समेत भैरहेको छानबिनले चिनियाँ सरकारको उक्त प्राथमिकतालाई पुष्टि गर्दछ ।

बिहीबारमात्र चिनियाँ इ-कमर्श कम्पनी भीआईपी शपले समेत अस्वस्थ प्रतिस्पर्धी गतिविधिका विषयमा सरकारी अधिकारीहरुले आफूमाथि अनुसन्धान गरिरहेको खुलासा गरेको छ । र, अलिबाबाको प्रतिस्पर्धी कम्पनी पिन्डुओडुओमाथि समेत उसको कार्य संस्कृतिका विषयमा सार्वजनिकरुपमा ठूलो आलोचना भैरहेको छ ।

निजी कम्पनीहरुमाथि आफ्नो प्रभाव कायम गर्ने चिनियाँ सरकारको नीतिकै कारण कम्पनीहरुमाथि यस्तो अनुसन्धानले तीव्रता पाएको विश्लेषण गरिएको छ । कतिपय प्राइभेट कम्पनीहरुलाई चाहीँ सरकारी कम्पनीहरुसँग साझेदारी गर्नका लागि बाध्य पारिएको छ ।

आगामी दिनहरुमा यो प्रवृत्ति झनै बढ्ने देखिन्छ । डाटामा पहुँच र डिजिटल प्लाटर्फममाथि नियन्त्रण सरकारका लागि निकै महत्वपूर्ण हुन्छ । र, अलिबाबालाई टुक्राएर यसलाई झण्डै झण्डै सरकारी स्वामित्वको कम्पनीमा परिवर्तन गरिने सम्भावनालाई समेत नकार्न सकिन्न ।

यद्यपि अलिबाबाको अधिकांस व्यवसाय चीनमा छ । तर यसको स्वामित्व तथा सञ्चालनमा आउने मूख्य परिवर्तनको असर विश्वव्यापी हुनसक्दछ ।

अलिबाबा कम्पनी सन् २०१४ देखि वालस्ट्रिटमा सूचीकृत भएर शेयर किनबेच भएको थियो र त्यतिबेला त्यो विश्वकै सबैभन्दा ठूलो आईपीओ बन्यो । अलिबाबामा जापानको सफ्टबैंकसमेत मुख्य शेयरहोल्डरको रुपमा रहेको छ । त्यस्तै विश्वका चर्चित लगानीकर्ताहरु भानगार्ड, टी रोए प्राइस तथा ब्लाकरकले समेत अलिबाबाको ठूलो परिमाणको शेयर किनेका छन् ।

अलिबाबामाथि अमेरिकीहरुलाई लगानी गर्न प्रतिबन्ध लगाउने गरी डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्न लागेको खबर सार्वजनिक भएसँगै गत हप्ता अलिबाबाको शेयर मूल्यमा गिरावट आयो । यद्यपि ट्रम्प प्रशासनले उक्त योजनाबाट हात झिकेको छ । तथापि अलिबाबामाथि अमेरिकी बन्देज उक्त खतरा टरिनसकेको बताइन्छ ।

आगामी राष्ट्रपति बाइडेनको सरकार पनि यस्ता योजनामाथि केन्द्रित हुने सम्भावना छ ।

यावत् तथ्यहरुका बीच यो वर्ष सन् २०२१ अलिबाबाका लागि कस्तो रहनेछ भन्ने कुरा उसका सिइओ ज्याक मा को अकस्मातको मौनताको प्रकृति र अवधिमा धेरै हदसम्म निर्भर हुनेछ ।

सिएनएनबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment