Comments Add Comment

के यो बर्ष ३ वटा मात्र नयाँ फिल्म रिलिज होलान् ?

पौष २६ गतेबाट देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा सुचारु गर्न दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गर्यो । यसपछि, देशभरका हल संचालनमा त आएका छन् तर दर्शक हलसम्म पुगेका छैनन् ।

एकातिर, ५० प्रतिशत अकुपेन्सी कहिलेबाट हट्छ थाहा छैन । अर्कोतिर, कोभिडको जोखिम कायमै रहेकाले हलसम्म जान दर्शकले चासो दिएका छैनन् । यसैले पनि सुचारु भएका हलमा नयाँ चलचित्र कसरी रिलिज गर्ने भन्ने चिन्ता प्रदर्शकमा छ । यो बर्ष हालसम्म प्रदर्शन मिति तोकिएका ३ वटा मात्र चलचित्र छन् । लकडाउन अगाडि नै निर्माण भएका चलचित्रहरु प्रदर्शन गर्न निर्माता कस्सिएका छैनन् ।

माघ १ गतेबाट नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । यो चलचित्रले हलमा दर्शकको चाप बढाउला भन्ने अपेक्षा गरिएको थियो । तर, नयाँ चलचित्र रिलिज भयो हैं भन्ने सन्देश दिन बाहेक यो चलचित्रले अरु उपलब्धी गरेन । हलमा दर्शकको संख्या लाजमर्दो हुँदा प्रदर्शकलाई हल खर्च नै उठाउन धौ–धौ पर्यो ।

महंगो बजेटमा बनेका, नाम चलेका ब्यानर र नाम चलेका कलाकारहरुको चलचित्र रिलिज हुने छनक देखिएको छैन । फागुणको अन्तिम साता चलचित्र ‘लप्पन छप्पन २’ रिलिज गर्ने तयारीमा निर्माता छन् । मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्र सौगात मल्ल, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । एक्सन जनरामा निर्माण भएको यो चलचित्र रिलिज अगाडि अर्को नयाँ नेपाली चलचित्र रिलिज गर्न कोही पनि कस्सिएका छैनन् ।

यो चलचित्र रिलिज भएको एक महिनापछि नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘मनसँग मन’ले प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र चैत्रको २७ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ । यसरीहेर्दा, हालसम्मको अवस्थामा यो बर्ष ३ वटा मात्र नयाँ चलचित्र रिलिज हुने संभावना देखिन्छ । के, अरु कुनै निर्माताले यो बर्ष प्रदर्शन मिति तोक्लान् त, प्रतिक्षा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment