Comments Add Comment

सुदूरपश्चिममा हिउँदे अधिवेशनको छैन सुरसार

५ माघ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन अन्त्य भएको ५ महिना बितिसक्दा पनि हिउँदे अधिवेशन सुरु हुने सुरसार छैन । गत साउन ३१ गते प्रदेशसभाको छैटौँ एवम् बजेट अधिवेशन अन्त्य भएको थियो ।

त्यसपछि प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका छैनन् । जसका कारण अझै केही समय प्रदेश सभा सञ्चालन नहुने देखिएको छ ।

छैटौँ अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भइसकेका छन् । ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६’ भने विषयगत समितिमा छलफलमै छन् ।

बजेट अधिवेशनपछि सरकारले अहिलेसम्म अन्य कुनै विधेयक सचिवालयमा दर्ता नगराएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताए । ‘विधेयक अधिवेशनको लागि अहिलेसम्म जानकारी आएको छैन,’ उनले भने ‘माघ महिनाभित्र ६ महिना पुग्छ । त्योभन्दा अघि नै सुरु हुन्छ ।’

६ महिनाभित्रै अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, सुदूरपश्चिममा ५ महिना बितिसक्दा पनि सरकारले बिजनेस दिन सकेको छैन ।

पाँच महिनादेखि संसद् बन्द हुँदा प्रदेश सभा सदस्यहरू भने फुर्सदिला भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादले सत्तारुढ दलका सांसदहरूलाई केही चापाचाप छ । तर, उनीहरू पनि छिट्टै संसद् आह्वान हुनुपर्ने बताउँछन् । ‘सरकारले बिजनेस दिन सक्नुपर्छ,’ सत्तारुढ दलका सांसद पूर्ण जोशीले भनिन्, ‘यस विषयमा सरकारलाई पनि हामीले आग्रह गरिरहेका छौँ ।’

प्रतिपक्ष दलका सांसदहरूले पनि तत्काल संसद बैठक राख्न माग गरेका छन् । ‘जनताका धेरै विषय उठाउनुपर्ने छ । तत्काल संसद् सुरु गर्नुपर्छ,’ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्काले भने, ‘यस विषयमा सरकार गम्भीर देखिएको छैन ।’

उनले कोरोना नियन्त्रण, विकास निर्माण, सुशासन र सरकारको दैनिक कामकारबाहीमा खबरदारी गर्न सदन चल्नुपर्ने बताए । सांसद खड्का भन्छन्, ‘सरकारको योजना समयमै कार्यान्वयन गर्न दबाब दिन पनि सदन चल्नु पर्छ ।’

संसद् बोलाउने विषयमा सुदूरपश्चिम प्रदेशमा सभामुख अर्जुन बहादुर थापाले पनि सरकारसँग समन्वय भइरहेको जनाएका छन् । आइतबार मात्रै मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख थापाबीच सदन सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

‘मैले मुख्यमन्त्रीज्यूसँग यस विषयमा छलफल गरिरहेको छु,’ सभामुख थापाले भने, ‘माघ १५ पछि संसद् सुरु गर्ने तयारी भइरहेको छ ।’

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले माघ तेस्रो सातासम्म संसद् सुरु गर्ने तयारी भइरहेको बताए । ‘माघ मसान्तसम्म ६ महिना पुग्छ । त्योभन्दा अघि नै प्रदेश सभा बैठक आह्वान हुन्छ,’ मन्त्री शाहले, ‘माघको तेस्रो हप्तासम्ममा बैठक आह्वान हुन्छ ।’

यस विषयमा मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख थापाबीच पनि छलफल भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment