Comments Add Comment

प्रचण्ड र माधवको स्वीकारोक्ति : हाम्रा पनि गल्ती केलाउनुपर्नेछ

फाइल तस्वीर

५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आम जनसमुदाय एवं कार्यकर्ता पंक्तिलाई सम्बोधन गर्दै ६ पृष्ठ लामो अपील जारी गरेका छन् ।

केपी ओलीको विरोधमा केन्द्रित अपीलमा नेताद्वयले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु केलाउनुपर्ने र आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

माधव नेपाल र प्रचण्डको संयुक्त हस्ताक्षरमा सोमबार जारी अपीलमा भनिएको छ, ‘यतिबेला नागरिक समाज र आम जनताबाट हाम्रो पनि केही आलोचना भइरहेको छ ।….हामी राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनुपर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नुपर्ने आवश्यकता छ । यो आवश्यकताप्रति हाम्रो गम्भीर ध्यान गएको छ ।’

अपीलमा अगाडि भनिएको छ, ‘हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरुप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमी–कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौं ।’

लोकतन्त्रमा नागरिकहरुले दल र दलका नेताहरुको आलोचना गर्नु स्वभाविक मात्र हैन, आवश्यक पनि हुन्छ भन्ने स्वीकारोक्ति अपीलमा गरिएको छ । ‘तर, यस्तो आलोचना तथ्यमा आधारित, वस्तुनिष्ठ र सन्तुलित हुनुपर्छ’ नेताद्वयले भनेका छन्,‘यस्तो आलोचनाको स्वागत गर्नुपर्दछ ।’

तर, अहिले केपी ओलीको प्रतिगामी कदममा सम्पूर्ण ध्यान लगाउनुपर्ने भएकाले अरु सबै कुराहरुलाई थाती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन प्रचण्ड–माधवले आग्रह गरेका छन् ।

उनीहरुले केपी ओलीको कदमको निन्दा गर्दै भ्रमहरु चिर्नका लागि अपील जारी गरिएको बताएका छन् ।

अपीलमा भनिएको छ, ‘यतिबेला आफ्ना अरु सबै कुरालाई थाती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन हामी सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थक साथीहरुलाई हार्दिक आह्वान गर्दछौं ।

हेर्नुहोस् अपील

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment