Comments Add Comment

‘गरिब देश पछि परे कोरोना महामारी अन्त्य हुँदैन’

६ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पाउने होड विश्वभर चलिरहेको भए पनि यो दौडमा गरिब मुलुक पछि पर्ने डर रहेको बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले कोरोना खोपले महामारी अन्त्यको आशा लिएर आएको बताए । यद्यपि खोपको कारण अर्को जोखिम पनि उत्पन्न हुन सक्ने डब्ल्यूएचओका प्रमुखको भनाइ छ ।

खोपले धनी र गरिब मुलुकहरुको बीचको असमानतालाई देखाएको गेब्रेयेससको भनाइ छ । यसले खोप वितरणमा समस्या आउन सक्ने उनले बताए । उनले भने, ‘अहिले विश्वका धेरै मुलुकहरुले आफ्नो स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई पहिला कोरोना खोप दिन चाहन्छन् । तर, धनी मुलुकका युवा र स्वस्थ वयस्क मानिसहरुले गरिब मुलुकका स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकले भन्दा पहिला कोरोना खोप पाउनु भने सही होइन ।’

गेब्रेयेससका अनुसार अहिलेको अवस्थामा कम्तीमा ४९ धनी मुलुकका मानिसहरुलाई कोरोना खोपको तीन करोड ९० लाख डोज दिइएको छ । गरिब मुलुकमा भने केवल २५ डोज खोप मात्र मानिसहरुलाई दिइएको छ । गेब्रेयेससले खोप वितरणमा समानता ल्याउनु नैतिक जिम्मेवारी मात्र नभई रणनीतिक र आर्थिक स्तरमा पनि महत्वपूर्ण हुने बताए ।

डब्ल्यूएचओले पाँच खोप उत्पादकबाट दुई अर्ब डोज कोरोना खोप सुरक्षित गरिसकेको र आगामी फेब्रुअरीदेखि कोरोना खोप दिन सुरु गर्ने बताएको छ । साथै डब्ल्यूएचओले थप एक अर्ब कोरोना खोपको लागि पनि सम्झौता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment