
९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा उल्लेख मात्रामा सहभागिता देखेपछि नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्धयले जनआन्दोलनको झल्को आएको बताए ।
प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले भने, ‘जसरी जनआन्दोलनमा देशैभरी जनता जागेका थिए, आज जनआन्दोलनको झल्को देखिएको छ ।’ यो कास्टिङ मात्र भएको भन्दै उनले भने फिल्म सुरु हुन बाँकी नै रहेको बताए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूले दोस्रो जनआन्दोलनपछि यति विशाल प्रदर्शन देखेको बताएका छन् । १२/१४ वर्षपछि जनसागर ओर्लिएको भन्दै उनले प्रतिगमनविरुद्ध जनता जागिसकेका छन् भन्ने प्रमाणित भएको बताए ।
सभाअघि शहरका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो । सबै जुलुस रत्नपार्कमा पुग्ने र शीर्ष नेताहरुले नेतृत्व गरेर पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपमा पुग्ने तय भएको थियो । तर एकपछि अर्को जुलुस आउने क्रममा रत्नपार्कमा जामको अवस्था बन्यो र एकीकृत जुलुस निस्कन सकेन ।
त्यसपछि केही जुलुस पुतलीसडकबाट भृकुटीमण्डप पुग्यो भने त कोही सिधै सभा स्थलमा आएर मिस्सियो ।
प्रतिक्रिया 4