News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'एक मुठ्ठी बादल' को प्रिमियर बुधबार काठमाडौंमा सम्पन्न भएको छ।
- अभिनेत्री आँचल शर्माले माइली पात्रको भूमिका निभाएकी छन्, जसमा विवाहसँग सम्बन्धित भावनात्मक जटिलता देखाइएको छ।
- निर्देशक साहारा शर्माले महिलाका भावना र अनुभवहरूलाई चलचित्रमा संवेदनशील रूपमा प्रस्तुत गरिएको बताउनुभयो।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक मुठ्ठी बादल’ को प्रिमियर बुधबार सम्पन्न भएको छ । महिला नौमती बाजा समूहले दिएको बाद्य प्रस्तुतिमाझ अभिनेत्री आँचल शर्माले डिजाइनर मनिष राईद्वारा तयार गरिएको रातो रङकै गाउन र लामो घुम्तो लगाएर बेहुली सरह प्रिमियरमा प्रवेश गरेकी थिइन् ।
साहारा शर्माद्वारा निर्देशित फिल्मको प्रिमियरमा पनि आफूले निर्वाह गरेको फिल्मको पात्रको उपस्थितीलाई आँचलले केन्द्रमा राखेको देखिन्थ्यो । फिल्ममा आँचलले माइली पात्रको भूमिका निर्वाह गरेकी छन्, जसमा विवाहको तयारीको रमझम छ ।
उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेनशील ढंगले प्रस्तुत गरिएको छ । फिल्मले मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रण गरेको कारण दर्शकबाट प्रशंसा पाएको थियो ।

निर्देशक शर्माले भनिन्, ‘एक मुठ्ठी बादल नेपाली चलचित्रमा प्रायः जसो नदेखाइने महिलाका भावना र अनुभवहरूमा आधारित छ ।’ निर्माता अभिमन्यू दिक्षित, सामिप्यराज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले निर्देशकसँगै अतिथिलाई स्वागत गरेका थिए ।
प्रिमियरमा फिल्म हेरेकाले कथावस्तु, अभिनय तथा कथावाचन शैलीको प्रशंसा गरे । साँझको कार्यक्रम कलाकार तथा निर्माण टिमसँग सञ्चारकर्मीको अन्तरक्रिया सत्रसँगै सम्पन्न भएको थियो, जहाँ चलचित्र निर्माण, प्रतिनिधित्व तथा समकालीन सिनेमामा स्थानीय कथाको महत्त्वबारे छलफल केन्द्रित रहेको थियो ।
‘हामीले मनदेखि एउटा चलचित्र बनाएका छौं । अब यसलाई हेर्ने, यसको बारेमा कुरा गर्ने र अझ धेरै दर्शकमाझ पुर्याउने जिम्मा तपाईंहरूको हो,’ निर्माता अभिमन्यु दीक्षितले थपेका थिए ।





प्रतिक्रिया 4