Comments Add Comment

लकडाउनपछि कुन–कुन नायिका फिल्मको छायांकन सेटमा फर्किए ?

१० महिनासम्म चलचित्र क्षेत्र ठप्प भयो । कोरोना कारण ठप्प बनेको चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदैछ । अहिले आधा दर्जन चलचित्रको छायांकन पनि भैरहेको छ । लकडाउनका कारण घरमै रहन वाध्य भएका केही नायिकाहरु चलचित्रको छायांकन सेटमा फर्किएका छन् भने कतिपयले चलचित्र साइन गरेर पनि काम सुरु हुन सकेको छैन ।

लकडाउनपछि नायिका सुहाना थापा र जसिता गुरुङ सबैभन्दा पहिले छायांकन सेटमा फर्किएका थिए । चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन कात्तिक १ गतेबाट सुरु हुँदा यही मितिबाट चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको थियो । चलचित्र ‘आई एम ट्वान्टी वान’मा नायिका जसिता गुरुङको मुख्य भूमिका छ भने ‘ए मेरो हजुर ४’मा नायिका सुहाना थापाको मुख्य भूमिका छ । चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन अझै जारी छ ।

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सुरु भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रको छायांकन सेटमा फर्किइन् । यो चलचित्रको काठमाण्डौका विभिन्न स्थानमा धमाधम छायांकन भैरहेको छ । लकडाउनको समयमा विवादको घेरामा परेकी साम्राज्ञीले चलचित्रको काम सुरु भएपछि तनावमुक्त भएर काम गरिरहेको उल्लेख गरेकी छिन् । नायिका मेनुका प्रधान पनि चलचित्रको छायांकनमा फर्किएकी छिन् । उनको मुख्य भूमिका रहने चलचित्र ‘गणपति’को छायांकन बन्दिपुरबाट सुरु भएको छ ।

नायिका ऋचा शर्मा पनि छायांकन सेटमा फर्किएकी छिन् । चलचित्र ‘कौसिद’मा ऋचाको मुख्य भूमिका छ । नायिका उपासना सिंह ठकुरी पनि छायांकन सेटमा फर्किएकी छिन् । उनी चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका लागि पोखरामा छिन् ।

नायिका वर्षा सिवाकोटी र केकी अधिकारीले चलचित्र ‘परदेशी २’को छायांकन लकडाउनपछि सकेका छन् । यो चलचित्रको लकडाउन अगाडि नै छायांकन सुरु भएको थियो । लकडाउनपछि अधिकांश कलाकारले म्यूजिक भिडियोमा काम गरेपनि चलचित्रको काम भने सुरु गर्न पाएका छैनन् । नायिकाहरु स्वस्तिमा खड्का, नम्रता श्रेष्ठ, पूजा शर्मा, वर्षा राउत लगायतले चलचित्र साइन गरेपनि उनीहरुले अभिनय गर्ने चलचित्रको छायांकन सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment