 
																			१२ माघ, डोटी । नियमानुसार पहाडी जिल्लामा एउटा कक्षामा ४५ जना विद्यार्थी हुनु पर्ने हो तर डोटीको एक सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालय पद्म पव्लिक माध्यमिक विद्यालयको कक्षा ९ मा २०८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गीता जोशीले जानकारी दिइन् ।
‘विद्यार्थी संख्या धेरै छ, विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कम छ’ आइतबार विद्यालयले आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रअ जोशीले भनिन्, ‘भएको जनशक्ति र भौतिक पूर्वाधारले विद्यार्थीको चाप धान्नै मुस्किल भएको छ ।’
कक्षा १० मा १९९ जना विद्यार्थी रहेको उनले बताइन् । यस्तै कक्षा ६ मा ९१, कक्षा ७ मा ११९ र कक्षा ८ मा १०७ विद्यार्थी रहेको सामाजिक परीक्षणमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
विद्यालयमा आधारभूत तहमा ३८८ र माध्यमिक तहमा ७२४ गरी एक हजार २१२ जना विद्यार्थी रहेका छन् । ‘तल्लो कक्षाहरुमा त कमै छन् तर माथिल्लो कक्षामा विद्यार्थी संख्या धेरै भयो,’ प्रधानाध्यापक जोशीले भनिन्, ‘सामुदायिक विद्यालयमा सिट संख्या तोक्न पनि नहुने, समस्या भएको छ ।’
उनले अभिभावकहरुले विद्यालयमा खासै चाँसो नदिने गरेको पनि गुनासो गरिन् । अभिभावक भेला आयोजना गर्दा पनि उपस्थित नभइदिने समस्या रहेको उनी बताउँछिन् ।
उनले भनिन्, ‘विद्यालयसँग सरोकारै नभएका व्यक्तिहरुले विद्यालयको विषयमा सडकमा अनावश्यक टिप्पणी गर्छन्, तर विद्यालयको समस्या के छ बुझ्न खोज्दैनन् ।’
कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले विद्यालयमा शिक्षक र अन्य भौतिक पूर्वाधारका लागि आवश्यक पहल गर्ने बताइन् ।
नगरभित्रका केही विद्यालयहरु मर्ज गर्ने तयारी रहेको बताउँदै उने ‘ती विद्यालयमा कार्यरत शिक्षकहरुलाई यस विद्यालयमा पदस्थान हुन्छन् ।’ गत वर्ष नगरभित्रका पाँच विद्यालय एकअर्कामा गाभेर धेरै विद्यार्थी संख्या बढी भएका बिद्यालयमा शिक्षकहरु पठाइएको मलासीले बताइन् ।
उनले थपिन्, ‘तपाईंहरु शैक्षिक उपलब्धि कसरी राम्रो बनाउने भन्ने विषयमा चिन्ता गर्नुहोस्, शिक्षक र भौतिक पूर्वाधारको बिषयमा मैले सक्दो प्रयास गर्छु ,’ उनले बिद्यालयले शैक्षिक नतिजामा सुधार ल्याएको भन्दै प्रशंसासमेत गरिन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4