Comments Add Comment

ओलीले व्यवस्थासँग बदला लिन संसद विघटन गरे : भुसाल

१३ माघ, बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँग बदला लिन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

तिलोत्तमाको ड्राइभरटोलमा मंगलबार आयोजित अन्तरक्रियामा नेता भुसालले प्रधानमन्त्रीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाई रोक्नु पर्ने बताए । ‘संसद विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज हुन्छ र न्यायपालिकामाथि आक्रमण सुरु हुन्छ,’ भुसालले भने, ‘संविधानको रक्षा गर्ने दायित्व अदालतको हो, संसद पुनर्स्थापनाले मात्रै संविधान जोगिन्छ र भविष्यमा अर्को केपी ओलीको जन्म हुन्न ।’

नेकपाको प्रचण्ड–माधव पक्षले गरिरहेको आन्दोलन अदालतको स्वतन्त्रता र स्वच्छताका लागि भएको भुसालले बताए । ‘यदि कतै सेटिङ भएको छ भनेपनि त्यसले अदालतलाई प्रभावित नगरोस् भन्ने मात्रै हाम्रो आशय हो, सेटिङ नै भएको छ भन्ने दाबी होइन’ भुसालले प्रष्ट पारे ।

ओली समूह भन्दा आफ्नो समूह सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमै राम्रो भएको उनको दाबी छ । ‘ओली समूह भन्दा हामी बेटर छौं र पार्टीलाई अझै प्रगतिशील बनाउँछौं’ उनले भने ।

अन्तरक्रियामा नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध भइरहेको आन्दोलन प्रचण्ड–माधव पक्षको मात्र आन्दोलन नभई संविधान, गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment