+
+
Shares

सांसदको रिटमा बहस गर्न प्रधानन्यायाधीशले तोके १५ मिनेट समय

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ माघ १४ गते १६:०६

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ । बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका छन् । बुधबारको इजलासको अन्तिममा जबराले भने ‘ अब तपाईंहरुलाई १०/१५ मिनेट भन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला ।’

प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् । ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ । उहाँहरुलाई पनि समय दिनैपर्‍यो । यसलाई प्रिय नै मानिदिनुहोला’ उनले भने ।

देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् । यसअघि यो रिटमा बहस गर्नेले २ घण्टासम्म समय पनि लिएका थिए ।

संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ । कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?