Comments Add Comment

सुखद छैन स्टार नायकको कमब्याक

नायक राजेश हमाल ४ बर्षको विश्रामपछि ठूलो पर्दामा फर्किदैछन् । हुनत, हमाल यो ४ बर्षमा म्यूजिक भिडियो, विज्ञापन, स्टेज कार्यक्रममा देखिए । उनलाई चलचित्रको काम नहुँदा पनि फुर्सदमा भने बस्नु परेन । तर, चलचित्रका लागि भने उनी कमब्याक नै गर्दैछन् भन्दा फरक नपर्ला ।

कारण, उनले ३० भन्दा बढी चलचित्रको अफर टुक्राए । नेपालका चल्तीका ब्यानरलाई समेत उनले विश्वास गर्न सकेनन् । यसैले, हमाल ‘बागमती र शकुन्तला’ असफल भएपछि एउटा उत्कृष्ट स्क्रिप्टको खोजीमा थिए भन्दा फरक नपर्ला ।

उनले साइन गरेको चलचित्र ‘सत्यम्’ले उनको कमब्याकलाई सफल बनाउला या नबनाउला त्यो भोलीको कुरा हो । तर, राजेशले चलचित्रको स्क्रिप्ट यसको टिमलाई विश्वास गरेका छन् । यसको टिमले राजेश हमालको स्टारडममाथि ठूलो आशा राखेको देखिन्छ । हुनत, यो चलचित्रमा पल शाह, अनुप विक्रम शाही जस्ता वर्तमान पुस्ताले रुचाएका कलाकार पनि छन् । तर, चलचित्र सफलता र असफलताको सम्पूर्ण जस र अपजस हमालमाथि नै जाने निश्चित छ ।

नेपाली चलचित्र क्षेत्रमा राम्रो क्रेज बनाएर केही समय चलचित्र क्षेत्र भन्दा टाढा भएर फर्किएका नायकहरुको कमब्याक सुखद भने छैन ।

नायक निखिल उप्रेती करिअर चम्कदा चम्कदै मुम्बई लागे । मुम्बइमा पुगेर ५ बर्ष बिताएपछि उनी चलचित्र ‘भैरव’ मार्फत अभिनयमा फर्किए । तर, यो चलचित्र चलेन । यो चलचित्र मात्र होइन, त्यसपछि निखिलले अभिनय गरेका कुनै पनि चलचित्र चलेनन् । ‘राधे, संरक्षण, लुटेरा, पिजडा ब्याक अगेन’ सबैले हावा खाए । यसअर्थमा, निखिलको कमब्याक निकै नै कमजोर बन्यो । निखिलले अरु निर्देशकको विश्वास नलागेर चलचित्र ‘भैरव’ आफै निर्देशन गरेका थिए । तर, उनले पनि आफ्नो कमब्याकलाई बलियो बनाउन सकेनन् ।

नायक विराज भट्टको अवस्था पनि यस्तै भयो । चलचित्र क्षेत्रमा स्टारडम चम्किरहेको समयमा भोजपुरी चलचित्रतिर लागेका विराज पनि केही बर्षपछि फर्किए । उनलाई रोज राणाले चलचित्र ‘जय परशुराम’बाट यो क्षेत्रमा कमब्याक गराएका थिए । तर, यो चलचित्र पत्तासाफ नै भयो । यसपछि फेरि विराजले चलचित्र ‘साङ्लो’ बनाए । आफैले निर्देशन गरेको यो चलचित्र पनि बक्स अफिसमा चलेन । अर्थात, विराजको कमब्याक पनि असफल देखियो ।

निखिल उप्रेती, विराज भट्ट जस्ता नायकको क्रेज एक दशक अगाडि लोभलाग्दो थियो । उनीहरुलाई लिएर चलचित्र बनाउँदा निर्माताले लाखौ कमाउथ्य । उनीहरुको अनुहार मात्र पोष्टरमा देख्दा पनि हलसम्म दर्शक पुग्ने अवस्था थियो । तर, नेपाली चलचित्रले कथा भन्ने शैली फेरिएपछि राजेश हमाल, विराज भट्ट, निखिल उप्रेतीको क्रेज कमजोर बन्यो ।

कुनै बेला नेपाली चलचित्रमा हाइहाई कमाएका नायकहरु रमेश उप्रेती, सरोज खनाल, दिलिप रायमाझीको कमब्याक पनि सुखद हुन सकेन । उनीहरु पनि केही बर्षको विश्रामपछि चलचित्र क्षेत्रमा त फर्किए, तर निकै कमजोर तरिकाले ।

यसैले पनि नायक राजेश हमालको पर्दा बाहिर देखिएको क्रेज ४ बर्षको अन्तरालपछि उनले अभिनय गर्न लागेको ‘सत्यम्’मा देखिएला कि नदेखिएला भन्ने प्रश्न सबैतिर छ । हमालले यही कुरा सोचेर नै ३० वटा चलचित्रको स्क्रिप्ट छाडेर ‘सत्यम्’लाई रोजेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment