+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares
सेयर शिक्षा-२ :

के तपाईं सेयर किन्न चाहनुहुन्छ ? यस्तो छ दोस्रो बजारमा प्रवेशको प्रक्रिया

रोयल आचार्य रोयल आचार्य
२०७७ माघ १६ गते १०:४३

सेयर बजारमा दुईवटा बजार हुन्छन्– प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक भनेको आवेदन दिएर सेयर किन्ने हो । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो ।

दोस्रो बजारमा भने सिधै प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । दोस्रो बजारमा सेयर कारोबारका लागि लगानीकर्ताले धितोपत्र ब्रोकरकहाँ जानुपर्छ । लगानीकर्ताको आदेशबमोजिम सेयरको खरिद र बिक्री गरिदिनका लागि धितोपत्र बोर्डबाट अनुमतिप्राप्त कम्पनीलाई स्टक ब्रोकर भनिन्छ ।

यस्ता कम्पनीहरु हाल देशमा ५० वटा रहेका छन् । उनीहरुको थप ४८ शाखा गरी जम्मा ९८ वटा कार्यालयबाट ब्रोकर कम्पनीहरुले सेयर किनबेचको सेवा दिइरहेको नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन् ।

एशोसिएसनका पूर्वअध्यक्ष रानाभाट अहिले देशका दुई दर्जनभन्दा बढी सहरहरुमा ब्रोकर कम्पनीहरुले शाखा खोलेर सेवा दिइरहेको बताउँछन् ।

दोस्रो बजारबाट सेयर खरिद गर्नका लागि सिधै ब्रोकर कम्पनीमा सम्पर्क राख्न सकिन्छ । तपाईलें चाहेअनुसार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको सेयर बजार मूल्य वा बिक्रेताले बिक्री गर्न चाहेको मूल्य तिरेर सेयर खरिद गर्न सक्नुहुनेछ ।

प्राथमिक बजारमा आवेदन दिनेहरुको संख्या पछिल्लो समय ठूलो भएका कारण सेयर पाउने सम्भावना शतप्रतिशत हुँदैन । पछिल्लो समय सानो परिमाणमा जारी हुने आईपीओ थोरै आवेदकहरुले मात्रै पाउने गरेका छन् । दोस्रो बजारमा जोखिम बढी भने हुन्छ, तर तपाईंले चाहेअनुसार सेयर खरिद गर्न सहज छ ।

दोस्रो बजारबाट सेयर खरिद गर्नका लागि केही प्रक्रियाहरु भने पूरा गरिसकेको हुनुपर्छ । अब हेरौँ ती प्रक्रिया केके हुन् –

१. डिम्याट खाता खोल्ने

सेयर खरिदका लागि तपाईंसँग डिम्याट खाता भने अनिवार्य हुनुपर्छ । पैसा राख्नका लागि बैंक खाता खोलेजस्तै सेयर राख्नका लागि डिम्याट खाता चाहिन्छ । डिम्याट खाता अहिले अनिवार्य गरिएको छ । यसका लागि के चाहिन्छ त ?

डिम्याट खाता खोल्नका लागि तपाईंले एउटा पासपोर्ट साइजको फोटो र नागरिकताका प्रतिलिपि तयार गर्नुपर्ने हुन्छ । यी कागजात लिएर तपाईंको आफ्नो खाता भएको बैंक वा अन्य जुनसुकै बैंकमा गएर पनि डिम्याट खाता खोल्न सक्नु हुनेछ । तपाईं मर्चेन्ट बैंक (क्यापिटल) मा गएर पनि डिम्याट खाता खोल्न सक्नु हुनेछ । डिम्याट खोल्नु अघि तपाईंको बैंक खातामा पैसा भने हुनैपर्छ ।

२. ट्रेडिङ खाता खोल्ने

दोस्रो बजारमा सेयर कारोबार गर्नका लागि डिम्याट पछि तपाईंलाई कारोबार (ट्रेडिङ) खाता समेत आवश्यक पर्छ । यो खाता भने ब्रोकर कार्यालयमा गएर खोल्न सकिन्छ । यसका लागि पनि एकप्रति पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि र डिम्याट खोलेको ‘कन्फर्ममेशन लेटर’ आवश्यक पर्ने एशोसिएसनका पूर्वअध्यक्ष रानाभाटले बताए । ‘कन्फर्ममेशन लेटर’ तपाईंले डिम्याट खोलेको ठाउँबाट पाइन्छ । उनका अनुसार ब्रोकर कार्यालयमा गएर बिना झण्झट यो काम गर्न सकिनेछ ।

३. अनलाइन सुविधा

माथिका प्रक्रियाहरु पूरा गरिसकेपछि तपाईं दोस्रो बजारमा गएर सेयर खरिद गर्न सक्ने हुनु भएको छ । तर अहिले अनलाइन कारोबार प्रणाली शुरु भइसकेकाले पहिलेको जस्तो ब्रोकर कम्पनीमै गएर कारोबार गर्नु पर्ने अवस्था छैन । अनलाइन सुविधा लिएर घरमै बसीबसी आफूले चाहेको कम्पनीको सेयर किन्न वा बेच्न सकिन्छ ।

अनलाइन कारोबार गर्न ब्रोकर र लगानीकर्ताबीच एउटा सहमति गर्नुपर्ने पूर्वअध्यक्ष रानाभाट बताउँछन् । उनका अनुसार सहमति भएपछि इमेलमा युजर र पासवर्ड आउँछ । युजर र पासवर्ड प्रयोग गरी सेयर कारोबार गर्न सकिन्छ ।

अनलाइनबाट कारोबार गर्ने तरिका ब्रोकरबाट समेत जानकारी लिन सकिन्छ ।

सेयर बिक्री गर्न धितो राख्नु पर्दैन । तर किन्ने हो भने कनेक्ट आईपीएसमार्फत कम्तिमा २५ प्रतिशत धितो राख्नु पर्छ । जोखिम हेरेर ब्रोकरले २५ प्रतिशत वा सोभन्दा बढी धितो राख्नु पर्ने निर्णय गर्न सक्छन् ।

अझ यहाँ बुझ्नु पर्ने कुरा के हो भने, नेपाली सेयर बजारमा गत ११ माघदेखि ‘टी प्सल टु सिस्टम’ लागू भएको छ । यो भनेको दुई दिनमै कारोबार राफसाफ हुने प्रणाली हो । तपाईंले कुनै सेयर किन्नु भयो भने दुई दिनभित्रै रकम तिरिसक्नु पर्छ । तर, तपाईंले बेचेको सेयरको रकम भने ब्रोकर कम्पनीले दुई दिनमै तपाईको खातामा नपठाउन सक्छन् । सामान्यतया बिक्री गर्दा एक दिन ढिला रकम आउने गरेको पूर्वअध्यक्ष रानाभाटले बताए ।

‘धेरै लगानीकर्तामा यो विषय कन्फ्युजन छ, हामीले तिर्दा दुई दिनमै अनि हामीले बेच्दा तीन दिनमा पैसा किन आउने भन्ने जिज्ञासा हुनसक्छ,’ उनी भन्छन्, ‘किन्ने लगानीकर्ताले ब्रोकरलाई पठाएको रकम सीडीएसमा पुग्ने हुन्छ, सानो प्रक्रिया पूरा गर्नु पर्ने हुँदा एक दिन ढिला हुन सक्छ ।’

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?