Comments Add Comment

सेयर कारोबारमा ‘टी प्लस टु’ लागू, बजारमा कस्तो असर पर्ला ?

११ माघ, काठमाडौं । आजबाट सेयर कारोबारको राफसाफ तथा फर्सौट दुई दिनभित्रै हुने भएको छ । दुई दिनभित्रै कारोबार राफसाफ सम्पन्न गर्नका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आज आइतबारबाट सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको हो ।

यसअघि ‘टी प्लस थ्री’ कार्यान्वयनमा रहेको थियो । ‘टी प्सल थ्री’लाई विस्थापन गर्दै ‘टी प्लस टु’ कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार सीडीएसले आइतबारदेखि यो व्यवस्था लागू गरेको हो । तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई ‘टी प्लस थ्री’ भनिन्छ भने दुई दिनभित्र हुनेलाई टी प्स टु’ भनिन्छ ।

सीडीएसका प्रमख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले यो व्यवस्था लागू भएसँगै आजको कारोबार भोलि नै राफसाफ तथा फर्स्यौट हुने बताए । उनका अनुसार नयाँ व्यवस्थाअनुसार धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको धितोपत्रको राफसाफ तथा फर्स्यौटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टभित्र जारी गरिसक्नुपर्नेछ ।

अब सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनु पर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै ट्रान्सफर गरिसक्नु पर्ने हुन्छ

ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान) भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकामा बुझाउनु पर्ने उनले जानकारी दिए ।

सीडीएसले सेयर खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रबापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई कारोबार भएको मितिको भोलिपल्टै बुझाउन पनि आग्रह गरेको छ ।

सबै पक्ष इमान्दार बन्नु पर्यो : धितोपत्र बोर्ड

छिटो राफसाप भए सेयर किनेको मान्छेलाई पुनः सेयर बिक्री गर्न पनि चाँडै पाउँछन् । पछिल्लो समय अनलाइन कारोबार बढ्दै गएको अवस्थामा ‘टी प्लस टु’ले बजारलाई राम्रो असर गर्ने जानकारहरु बताउँछन् ।

सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनु पर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै ट्रान्सफर गरिसक्नु पर्ने हुन्छ । सबै सरोकारवाला पक्षहरुसँग सल्लाह लिएर नै नेपाल धितोपत्र बोर्डले यो कार्यान्वयन गर्न भनेको थियो । बोर्डका कार्यकारी निर्देशक निरज गिरी यो व्यवस्था सबैका लागि राम्रो हुने बताउँछन् ।

यसका लागि खरिदकर्ता वा बिक्रीकर्ता सबै इमान्दार हुनुपर्ने उनको भनाइ छ । कुनै पक्ष इमान्दार नभएको अवस्थामा भने केही समस्या सिर्जना हुनसक्ने कार्यकारी निर्देशक गिरीले बताए ।

‘यसमा सबै पक्ष इमान्दार हुनुपर्छ, इमान्दार नहुँदा त समस्या हुनसक्ला,’ उनले भने, ‘यसका लागि लगानीकर्ताहरुले पनि समयमै पैसा तिर्नु पर्छ, ब्रोकरहरुले पनि समयमै सेटलमेन्टको पैसा दिने हो भने केही समस्या हुँदैन ।’

सबैले अनलाइनबाटै सेयर खरिद गरेको रकम बुझाउँदा सहज हुन्छ । तर अहिले पनि धेरै लगानीकर्ताहरु चेक नै बुझाउने गरेकाले ढिलाइ हुने हो कि भन्ने चिन्ता छ ।

जति चाँडो राफसाफ भयो त्यति नै धेरै लगानीकर्तालाई फाइदा हुने उनले बताए । दुई दिनभित्रै पैसा पनि तिर्ने र डिम्याटमा सेयर पनि आइसक्ने हो भने तेस्रो दिन नै अर्को कारोबार गर्न सकिने हुन्छ । यो लगानीकर्ताका लागि राम्रै कुरा भएको उनको भनाइ छ ।

‘केही दिन समस्या हुन सक्ला, पछि सहज हुन्छ’

स्टक ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट पनि सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आउनु राम्रो कुरा भएको बताउँछन् । तर यसका लागि लगानीकर्ताहरु सबै इमान्दार हुनु पर्ने उनको भनाइ छ । ब्रोकर कम्पनीहरुको तर्फबाट कुनै समस्या नरहेको उनले बताए ।

तर लगानीकर्ताहरुले दुई दिनमै पैसा बुझाउन नसक्लान् कि भन्ने अलि चिन्ता रहेको उनले सुनाए । सबैले अनलाइनबाटै सेयर खरिद गरेको रकम बुझाउँदा सहज हुन्छ । तर अहिले पनि धेरै लगानीकर्ताहरु चेक नै बुझाउने गरेकाले ढिलाइ हुने हो कि भन्ने चिन्ता रहेको पूर्वअध्यक्ष रानाभाट बताउँछन् ।

‘लगानीकर्ताहरुले रकम भुक्तानी ढिला दिँदा हामीले ऋण काढेर सेटलमेन्ट गर्नु पर्ने हुन्छ, अहिले पनि १५ प्रतिशत हाराहारीमा मात्रै लगानीकर्ताहरुले समयमै पेमेन्ट गर्नुहुन्छ,’ उनी भन्छन्, ‘यहाँ ध्यान दिनैपर्ने कुरा भनेको आज ट्रेडिङ गरेको छ भने भोलिसम्म जसरी पनि पेमेन्ट गरिदिनु पर्यो, लगानीकर्ताले यो कुरा बुझ्ने हो भने कुनै त्यस्तो समस्या छैन ।’

अहिले सेयर खरिद गरेपछि कनेक्ट आईपीएसबाटै रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । तर कनेक्ट आईपीएसबाट भुक्तानी गर्नका लागि पनि सीमा तोकिएको छ । ठूलो–ठूलो कारोबार गर्नेहरुले अहिले पनि चेकबाटै भुक्तानी दिने गरेका छन् । हिजो कारोबार गरेको पर्सिको दिन चेक बुझाए पनि हुने थियो । तर अब कारोबार गरेको भोलि नै चेक बुझाउनु पर्ने हुन्छ । लगानीकर्ताले भोलि नै नबुझाए समस्या हुने उनी बताउँछन् ।

‘सेटलमेन्ट ज्ञारेन्टी फण्ड नभएकाले पैसा लगानीकर्ताले समयमा नपाइदिँदा ब्रोकरलाई गाह्रो हुन्छ, हामीले त जहाँबाट रकम ल्याएर भए पनि सेटलमेन्ट गर्नैपर्छ,’ पूर्वअध्यक्ष रानाभाटले भने, ‘शुरुका केही दिन लगानीकर्ताहरुले ढिला गरे पनि केही दिनमा भने सहज होला ।’

ब्रोकरहरुले समयमा सेटलमेन्ट नगर्दा तीन दिन कारोबार गर्न नपाउने व्यवस्था रहेको छ । लगानीकर्ताहरुले भने यस्तो कारबाही भोग्नु पर्दैन । पूर्वअध्यक्ष रानाभाट भन्छन्, ‘हामीलाई त्यहिँ फण्डको समस्या हुनसक्छ, तर विस्तारै सहज होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment