News Summary
Generated by OK AI. Editorially reviewed.- मध्यपुरठिमीस्थित मिड भ्याली कलेजमा दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ आयोजना गरिएको छ।
- प्रदर्शनीमा उपत्यका भित्रका ६७ विद्यालयका विद्यार्थीले बनाएको ९३ उपकरण प्रदर्शनमा राखिएको छ।
- प्रदर्शनीमा उत्कृष्ट उपकरण निर्माण गर्ने तीन विद्यालय र सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कार प्रदान गरिनेछ।
१२ मंसिर, काठमाडौं । दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आयोजना गरिएको छ । मध्यपुरठिमीस्थित मिड भ्याली कलेजमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीले बनाएको ९३ वटा उपकरण प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा सामुदायिक र निजी विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीले बनाएको प्रविधिहरू प्रदर्शनमा राखिएको छ ।
दुई दिने प्रदर्शन आजसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य छ । प्रदर्शनीमा पहिलो दिन हिजो चार हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए ।
प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नवीनतम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामग्रीहरू प्रदर्शन गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिति प्रा.डा. रामेश्वर अधिकारीले विद्यार्थीलाई शैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधि तर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्धत पुग्ने बताए ।
‘यो खालको कार्यक्रम शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रका विद्यालय तथा कलेजहरुमा समेत आयोजना गर्न जरुरी छ । सरकारले पनि प्रदर्शनीलाई प्राथमिकता दिन आवश्यक छ,’ उनले भने ।

शिक्षामन्त्रालयले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ । ‘अझै विशेष योजना ल्याएर विद्यार्थीहरुमा व्यवहारिक ज्ञान प्रदान गर्न सक्नुपर्छ । यी भावी पुस्तालाई विज्ञान तथा प्रविधि क्षेत्रमा योग्य बनाउनु आजको आवश्यकता हो,’ उनले भने ।
सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न कटुवालले साना साना उमेरका विद्यार्थीहरुले दैनिक रूपमा प्रयोग हुने उपकरणहरूलाई फरक रुपमा प्रदर्शनी गरेको बताए ।
मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उदेश्यले यस प्रदर्शनीको आयोजना गरिएको बताए ।
प्रदर्शनीमा उत्कृष्ट उपकरण एवं सामग्री निर्माण गर्ने तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने छ ।
प्रदर्शनी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रदर्शनी आज सकिने छ ।
प्रतिक्रिया 4