
१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले चरमपन्थी संगठन तालिबानले गत वर्ष भएको सम्झौताको प्रतिबद्धता पूरा नगरे सो सम्झौता अघि बढ्न नसक्ने बताएको छ । बिहीबार रक्षा मन्त्रालयले अमेरिका अझै पनि तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने प्रयासमा भने प्रतिबद्ध रहेको बताएको छ ।
‘उनीहरुले आतंकवाद त्याग्ने र अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलमाथिको हिंसात्मक आक्रमण बन्द गर्ने प्रतिबद्धता पूरा नगरेसम्म सम्झौतालाई अघि बढाउने कुनै विशेष बाटो देखिँदैन । तर, हामी अझै पनि त्यसमा प्रतिबद्ध छौं’, रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले बताए ।
किर्बीले आगामी दिनमा अफगानिस्तानमा कति संख्यामा अमेरिकी सेना रहने भन्ने विषयमा भने अहिले कुनै निर्णय नभएको बताएका छन् । बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानी राष्ट्रपति असरफ घानीसँग वार्ता गरेका थिए । जसमा उनले शान्ति प्रक्रियाको लागि आवश्यक कूटनीतिक सहयोगको लागि तयार रहेको बताएका थिए ।
ब्लिन्केनले अमेरिकाले तालिबानसँग गत वर्ष भएको सम्झौता पुनर्विचार गरिरहेको बताउँदै तालिबानले आफ्नो प्रतिबद्धता पूरा गरेको वा नगरेको भन्नेबारे छलफल भइरहेको बताएका थिए । उनले अहिले मुलुकमा जारी युद्ध अन्त्य गर्न अफगानिस्तानलाई ऐतिहासिक मौका रहेको बताएका थिए ।
गत वर्ष फेब्रुअरीमा अमेरिकासँग तालिबानको सम्झौता भए पनि तालिबानले अफगानिस्तानमा हिंसात्मक आक्रमण भने रोकेको छैन । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पदभार सकिनुभन्दा केही समयअघि मात्र अफगानिस्तानबाट २५ सय सैनिक फिर्ता लगेका थिए ।
प्रतिक्रिया 4