Comments Add Comment

फाइनलमा हारको इतिहास तोड्ने योजनामा आर्मी, एपीएफको लक्ष्य अपराजित च्याम्पियन

१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

फाइनल खेल शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।

आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो भने एपीएफ दोस्रो पटक फाइनल पुगेको हो । विभागीय टोली त्रिभुवन आर्मी क्लबले यसअघि भएका तीन वटै संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेलेको थियो । जसमध्ये पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी त्यसयता दुवै फाइनलमा पराजित भयो ।

एपीएफ यस पटक अपराजित रहँदै फाइनल पुगेको हो । समूह ‘ए’ मा चारवटै खेल जितेको एपीएफले सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको थियो । समूह ‘ए’ मै रहेको आर्मी भने एपीएफसँग पराजित हुँदै समूह उपविजेता बनेको थियो । सेमिफाइनलमा समूह ‘बी’ को विजेता बागमती प्रदेशलाई सेमिफाइनलमा ९४ रनले पराजित गर्दै आर्मीले एपीएफसँग फाइनल भेट पक्का गरेको हो ।

आर्मीले चार पटक फाइनल खेल्दा एकल रुपमा उपाधि जित्न सकेको छैन । पहिलो संस्करणमा संयुक्त विजेता बनेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफसँग पराजित भएको थियो भने तेस्रो संस्करणमा पुलिससँग पराजित भएको थियो ।

उता एपीएफ भने दोस्रो पटक फाइनल पुगेको हो । दोस्रो संस्करणमा फाइनल पुग्दा एपीएफले उपाधि जितेको थियो । पहिलो र तेस्रो संस्करणको सेमिफाइनलमै पराजित हुँदै एपीएफ बाहिरिएको थियो ।

आर्मी र पुलिससँग खेलिसकेको एपीएफ यस पटक अपराजित छ र फाइनलसम्म त्यसलाई कायम राख्ने योजनामा छ । उता यसअघि लगातार दुई हार व्यहोरेको आर्मी त्यसलाई तोड्दै उपाधि जित्ने लक्ष्यमा छ ।

फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले फाइनल खेलका लागि तयार भएको र उपाधिका जित्ने लक्ष्य भएको बताए ।

एपीएफका कप्तान शरद भेषावकरले फाइनल पुग्नु खुशीको विषय भएको बताए । ‘फाइनल पुग्नु खुसीको कुरा हो । फाइनल बाँकी छ । आशा छ भोलि राम्रो हुनेछ । टिमले राम्रो खेलिरहेको छ । चुनौतिपूर्ण अवस्थामा पनि राम्रो भएको छ,’ शरदले भने, ‘टिमले गाह्रो अवस्थामा पनि राम्रो गरिरहेको छ । टिममा फाइनल खेल्नको लागि हंगर देखिएको छ ।’

यस्तै आर्मीका कप्तान विनोद भण्डारीले फाइनल जित्नकै लागि खेल्ने बताए । ‘टिमले राम्रो गरिरहेको छ । चाहिएको समयमा खेलाडीले खेलेका छन् । हामी जित्नका लागि खेल्छौँ,’ उनले भने ।

भण्डारीले यसअघिका दुई फाइनल हारे पनि त्यो इतिहास भएको र अहिलेको लागि सोचेर खेल्ने बताए । ‘इतिहास हो तर त्यसलाई सोचेर केही फरक पर्दैन । ३ खेलाडी नहुँदा समस्या भएको जस्तो देखिएको हो ।  हाम्रो टिम सन्तुलित छ । एपीएफ पनि सन्तुलित टिम हो,’ उनले भने ।

एपीएफका कप्तान शरद भेषावरकले फाइनलमा व्यक्तिगत प्रदर्शन राम्रो हुने आशा राखेका छन् । उनले भने, ‘राम्रो गर्ने भोको छ । आशा छ भोलि टिमका लागि उत्कृष्ट दिनेछु ।’

यस्तै भुवन कार्की फाइनल खेल्न फिट रहेको र बसन्त रेग्मीको फिटनेसबारे शनिबार नै थाहा हुने बताए । ‘केही दिन रेष्टमा रहेकाले प्लेअरहरु रिकभर भइरहेका छन् । आर्मीविरुद्ध बेस्ट एलाभेन खेलाउँछौँ,’ शरदले भने ।

आर्मीका कप्तान भण्डारीले फाइनलमा धेरै सोच्ने भन्दा पनि नर्मल खेलका रुपमा खेल्ने बताए । उनले जित्नै सक्दैन भन्ने मानिकता त्यागेर राम्रो खेल्नुपर्ने बताए ।

आर्मी पहिलो संस्करणदेखि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीको कप्तानीमा प्रधानमन्त्री कप खेल्दै आएको छ । कप्तानको रुपमै उनको यो चौथो फाइनल हो । उता ब्याट्सम्यान शरदको नेतृत्वमा एपीएफले अपराजित रहेर फाइनलसम्मको यात्रा तय गरेको छ । यसअघि बसन्त रेग्मीले एपीएफको कप्तानी गरेका थिए ।

दुवै टोलीमा सिनियर र जुनियर राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको वर्चस्व रहेको छ । यसअघि समूह चरणमा यी दुईको भेट हुँदा एपीएफ विजयी भएको थियो । रोमाञ्चक बनेको खेल एपीएफले ६ रनले जितेको थियो ।

फाइनल विजेताले नगद १० लाख र ट्रफी हात पार्नेछन् भने उपविजेताले ५ लाख पाउनेछन् ।

शुक्रवार दुवै टिमका कप्तानले च्याम्पियन टिमले पाउने ट्रफी अनभेल गरेका थिए । लामो समयपछि यस्तो खालको प्रतियोगिता खेल्न पाउदा खुशी लागेको दुवै कप्तानले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment