Comments Add Comment

भारतमा किसानको धर्ना भइरहेको स्थानमा इन्टरनेटमा प्रतिबन्ध

१८ माघ, काठमाडौं । भारतले राजधानी सहर दिल्लीको वरपर किसानहरुले प्रदर्शन गरिरहेको तीन स्थानको मोबाइल इन्टरनेटमा रोक लगाएको छ । कृषि कानुनको विरोधमा किसानहरुको प्रदर्शन जारी रहेको अवस्थामा सरकारले उनीहरुले धर्ना दिइरहेको स्थानको मोबाइल इन्टरनेटमाथि प्रतिबन्धको निर्णय गरेको हो । सरकारले ‘आम मानिसका सुरक्षा कायम राख्दै’ आइतबार रातिसम्म इन्टरनेटमाथिको प्रतिबन्ध कायम रहने बताएको छ ।

करिब दुई महिनायता निरन्तर किसानहरुले दिल्लीको सीमामा धर्ना दिँदै आएका छन् । सरकार र किसानहरुबीच समस्या समाधानको लागि पटकपटक हुँदै आएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । यसअघि भारतको गणतन्त्र दिवसको दिन किसानहरुको ट्याक्टर आन्दोलन हिंसात्मक बनेसँगै किसान आन्दोलन चर्चा बढेको थियो । उक्त प्रदर्शनमा दर्जनौं प्रहरी अधिकारीहरु घाइते भएका थिए ।

शनिबार भारतका एक मन्त्रीले सिंघु, घाजिपुर र टिक्रीमा इन्टरनेट सेवा बन्द गरिएको जानकारी दिएका हुन् । शनिबार महात्मा गान्धीको स्मृति दिवसको अवसरमा किसानहरुले भोक हडताल गरेका थिए । यद्यपि शनिबारको आन्दोलन भने शान्तिपूर्ण रहेको अधिकारीहरुले बताएका छन् ।

इन्टरनेटमा रोक लगाउने सरकारको निर्णयको किसानहरुले भने विरोध गरेका छन् । उनीहरुले सरकारले किसानहरुलाई थप त्रास सिर्जना गर्न इन्टरनेटमा प्रतिबन्धको निर्णय गरेको बताएका छन् । केहीले भने यस किसिमको कार्यबाट सरकारले प्रजातन्त्रको हत्या गरिरहेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment