Comments Add Comment

आरोहण रोयल्टीको १० प्रतिशत रकम आरोहीको हितमा खर्चिन प्रस्ताव

१८ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमालय आरोहणबापत उठ्ने रोयल्टी रकमको १० प्रतिशत आरोहीको हितमा खर्च गर्ने गरी छुट्याउन सरकारसँग प्रस्ताव गरेको छ ।

नेपालमा हरेक वर्ष ५० करोड भन्दा माथि हिमाल रोयल्टीवापत रकम संकलन हुने गरेको छ । यस्तो रकम अहिले तीन तहका सरकारले बाँडफाँट गरी राख्ने गरेका छन् ।

एनएमएका अध्यक्ष शन्तबीर लामाका अनुसार रोयल्टीवापत उठ्ने रकमको केही अंश हिमाल आरोही तथा सहयोगीहरुकै हितमा खर्च गर्नुपर्छ भन्ने मनसायसहित संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो ।

मन्त्रालयबाट यो प्रस्ताव अगाडि बढ्ने अपेक्षा लिइएको उनले जानकारी दिए । हिमाल आरोही र सहयोगीले ज्यानको बाजी राखेर गर्ने शाहसिक कामकै कारण संसारभर नेपाल चर्चित रहेको भन्दै यसमा राज्यले समेत केही न केही योगदान गर्नुपर्छ भन्ने अपेक्षा संघको छ ।

अघिल्लो साता माउण्ट केटुबाट हिउँदे सिजनमा नेपाल फर्किएका टिमका सदस्यहरुले राज्यबाट आरोहीलाई साथ र सहयोग नपाएको गुनासो गरेका थिए । सोही अवसरमा अध्यक्ष लामाले आरोहीको हितका लागि रोयल्टीवापतको रकम ‘वेलफेयर’मा खर्च गर्नुपर्ने प्रस्ताव मन्त्रालयमा गएको जानकारी आरोहीहरुलाई जानकारी गराएका थिए ।

संघ आफैंले समेत हिमाल प्रवर्द्धन गरी आरोहण रोयल्टी उठाउने गर्छ । सरकारले २७ वटा हिमालको जिम्मा नेपाल पर्वतारोहण संघलाई दिएको छ ।

सरकारी तयारी के छ ?

यता, सरकारले समेत हिमाल आरोहण र आरोहीलाई सकारात्मक सन्देश दिने गरी केही नयाँपन दिने उपायको खोजी भइरहेको जानकारी गराएको छ । कम्तिमा आगामी आरोहण सिजन -वसन्त ऋतु ः वैशाख-जेठ) मा आरोहीले अनुभुति हुने गरी सकारात्मक सन्देश प्राप्त गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल बताउँछन् ।

‘हिमालको राम्रो प्रचार होस भन्ने हामी पनि चाहन्छौं, त्यसको उपाय के हुन्छ, हामी सरोकारवालासँग पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं,’ उनले भने ।

व्यवसायीहरु भने आगामी सिजनमा सगरमाथा आरोहणमा विश्वभरबाट आरोही आकषिर्त हुन सक्ने महत्वपूर्ण घोषणा सरकारबाट हुनुपर्ने माग गर्छन् ।

कम्तिमा सगरमाथा आरोहण सामान्य भयो भने त्यसपछि कोरोनाले धर्मराएको पर्यटन क्रमशः अगाडि बढ्ने अपेक्षा व्यवसायीको छ । सन् २०१९ को आरोहण सिजनमा धेरै आरोहीको सगरमाथा क्षेत्रमा निधन भएपछि नेपालको गलत समाचारले विदेशी संचारमाध्यममा प्राथमिकता पाएको थियो ।

सन् २०२० मा आरोहण सिजन प्रारम्भ हुनासाथ नेपालमा देशव्यापी लकडाउन सुरु भयो । जसका कारण नेपाल आइ विभिन्न स्थानमा पुगेका पर्यटकलाई समेत उद्दार गरी उनीहरुकै मुलुक फर्काउनु परेको थियो । यो वर्ष भने सकारात्मक समाचार प्रवाह हुने गरी आरोहण व्यवस्थित गर्नुपर्ने माग व्यवसायीले गरेका छन् ।

त्यसो त केही दिन अगाडि स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हिमाल आरोहीका लागि हरेक वर्ष अवार्डको व्यवस्था गर्ने आश्वासन दिएका छन् । अहिलेसम्म आरोहीका नाममा खास अवार्डको व्यवस्था नभएको भन्दै आगामी दिनमा त्यस्तो सम्मानको व्यवस्था मिलाइने उनको भनाइ छ ।

माउण्ट केटू चढेर फर्किएका आरोही टिमलाई सम्मान गर्ने क्रममा उनले यस्तो आश्वासन दिएका हुन् । उनले कीर्तिमान हुने गरी आरोहणमा जाने क्रममा सरकारलाई समेत जानकारी गराएर जान आरोहीसँग आह्वान समेत गरेका थिए । यसले सरकारबाट गच्छेअनुसारको सहयोग पाउन सहज हुने उनको भनाइ थियो ।

आवागमन भने सहज बनाइने

यसैबीच, सरकारले विदेशबाट नेपाल आउन चाहने पर्यटकको आवागमन भने सहज बनाउने तयारी गरेको छ । पर्यटन मन्त्री ढकालका अनुसार विदेशमा खोप लगाएका पर्यटकलाई निर्वाध नेपाल प्रवेशको अनुमति दिने तयारी रहेको छ ।

उनीहरु नेपाल आएपछि पनि क्वारेन्टिन बस्नु पर्ने छैन । विदेशबाट पीसीआर नेगेटिभ रिर्पोट ल्याएर नेपाल आई यहाँ पिसिआर गरि नेगेटिभ आएमा समेत घुमफिर खुला गर्ने गरी निर्णयको तयारी सरकारले गरेको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment