+
+
Shares

हरियो धनियाँ र काँक्रोमा भेटियो अत्यधिक विषादी

मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो धनियाँमा ५५.२९ प्रतिशत र काँक्रोमा ४६.५ प्रतिशत 'अर्गानोफस्फेट' विषादी भेटिएको छ।
  • केन्द्रीय कृषि प्रयोगशालाले १५ पसलका तरकारी तथा फलफूल परीक्षण गर्दा विषादीको मात्रा ३५ प्रतिशतभन्दा बढी हुँदा ती तरकारी उपभोग अयोग्य रहेको बताएको छ।
  • यसअघि पनि कालीमाटी बजारमा हरियो फर्सी, काँक्रो, घिरौँला र अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको थियो।

४ मंसिर, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत  ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा हरियो धनियाँ र काँक्रोमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ र काँक्रो उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट गरेको दर ३५ प्रतिशतभन्दा कम हुँदा उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड छ।

यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

यस्तै २३ असोजमा मात्रै कालीमाटी तरकारी बजारमै बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको थियो । त्यसपछि ३० असोजमा मकवानपुरबाट बेच्न ल्याइएको अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको थियो ।

यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?