Comments Add Comment

आङ साङ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्रा

२० माघ, काठमाडौं । म्यानमारमा सोमबार ‘कू’ गर्दै सेनाले शासन आफ्नो हातमा लिएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई पनि सेनाले हिरासतमा लिएको छ । यससँगै अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाको विरोध गरिरहेका छन् ।

यहाँ उनै प्रजातन्त्रवादी नेतृ सुकीको उतारचढावपूर्ण राजनीतिक यात्राबारे वर्णन गरिएको छ –

आङ साङ सुकीको जन्म सन् १९४५ मा म्यानमारको याङ्गोनमा भएको हो । उनको जन्म भएको दुई वर्षपछि सन् १९४७ मा उनका पिताको हत्या भयो । उनी बि्रटिश बर्माका डिफ्याक्टो प्रधानमन्त्री थिए । सन् १९६० मा उनकी आमा खिन की भारतको लागि राजदूत नियुक्त भइन् । सुकीले माध्यमिक तहको पढाइ भारतमा गरिन् । त्यसपछि अक्सफोर्ड युनिभर्सिटीबाट उनले मनोविज्ञान, राजनीतिशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन् । सन् १९६७ मा उनले ब्याचलरको अध्ययन सकेकी थिइन् ।

उक्त अवधिमा उनको भेट माइकल अरिससँग भयो । उनी भुटानी अध्ययनका विज्ञ थिए । सन् १९७२ मा उनीहरुको विवाह भयो । अहिले उनीहरुका दुई सन्तान छन् । सुकीको परिवारले सन् १९७० र ८० को दशक बेलायत, अमेरिका र भारतमा बिताएको थियो ।

सन् १९८८ मा सुकी अन्तिम अवस्थामा पुगेकी आमाको हेरचाहको लागि म्यानमार फर्किएकी थिइन् । त्यसपछि उनको जीवनमा नाटकीय परिवर्तन आयो । सुकी म्यानमार फर्किँदा मुलुकमा तानाशाही सरकारविरुद्ध आन्दोलन भइरहेको थियो । सन् १९६२ मा ‘कू’ गरेपछि तानाशाह यू ने विनले सन् १९८८ मा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर, अझै पनि नरोकिएको आन्दोलन दबाउन उनले पर्दा पछाडि बसेर हिंसात्मक आक्रमणहरु गर्ने गरेका थिए ।

म्यानमार फर्किएसँगै सुकीले तानाशाही सरकारविरुद्ध सार्वजनिकरुपमा नै आवाज उठाउन थालिन् । साथै उनले प्रजातन्त्र र मानव अधिकारका मुद्दा उठाउन थालिन् ।

त्यसपछि सरकार चलाइरहेको मिलिट्री जन्ता (जसको नाम परिवर्तन गरी युनियन अफ म्यानमार बनाइएको थियो) को आँखामा पर्न उनलाई लामो समय लागेन । सुकीलाई घरमा नै नजरबन्दमा राखियो र उनको बाहिरी विश्वसँगको सम्पर्कमा पूर्णरुपमा प्रतिबन्ध लगाइयो ।

सेनाले सुकीलाई मुलुक छाड्ने भए स्वतन्त्र गरिदिने बताउँदै आए पनि सुकीले मुलुक छाड्न अस्वीकार गर्दै आइन् । उनले राजनीतिक बन्दीलाई रिहा र नागरिकलाई सत्ता नसुम्पेसम्म संघर्ष गरिरहने बताइन् । सन् १९९० मा निर्वाचन भयो र उक्त निर्वाचनमा सुकीको पार्टीले ८० प्रतिशत मत ल्यायो । तर, सेनाले त्यसलाई बेवास्ता गर्यो ।

सन् १९९५ मा सुकीलाई घरमा नै गरिएको नजरबन्द हटाइयो । त्यसको एक वर्षपछि उनी एनएलडी पार्टीको बैठकमा सहभागी बनिन् । त्यसको तीन वर्षपछि उनले मुलुक सञ्चालन गर्ने वैधानिक निकाय भन्दै एक समिति बनाइन् ।

यो पनि पढ्नुहोस के आङ साङ सुकीको लोकप्रियता घटेको हो ?

यससँगै सन् २००० मा उनी पुनः नजरबन्दमा परिन् । उनलाई सन् २००२ मा नजरबन्द मुक्त गरिएको थियो । सन् २००३ मा सरकारपक्ष र विरोधी पक्षबीच झडप भयो ।त्यसपछि उनी पुनः पक्राउ परिन् । उनीलाई घरमा नै नजरबन्दमा राखियो । त्यसपछि उनको नजरबन्द हरेक वर्ष नवीकरण गर्न थालिएको थियो ।

सन् २०१० मा भएको निर्वाचनमा विपक्षी पार्टीले सुकीलाई निर्वाचनमा उठ्न लगाएको प्रतिबन्धपछि बहिष्कारको घोषणा गरेको थियो । त्यसैले सत्तारुढ पार्टीले उक्त निर्वाचनमा जित हात पार्यो । निर्वाचन सकिएको ६ दिनपछि सुकी नजरबन्दबाट रिहा भइन् ।

सन् २०१३ मा सुकी पार्टीको नेतृ बनिन् । त्यसपछि सन् २०१५ मा म्यानमारमा अहिलेसम्मकै खुला मतदान भयो । जसमा सुकी पार्टीको नेतृत्वमा पुनः निर्वाचित भइन् । त्यसको एक साताभन्दा कम समयमा नै मुलुकमा भएको निर्वाचनमा उनको पार्टीले अत्यधिक बहुमतसहितको जित हात पार्‍यो ।

सन् २०१६ मा लामो समयदेखि सुकीको सल्लाहकार रहँदै आएका एचटिन किय म्यानमारको नयाँ राष्ट्रपति बनेका थिए । राष्ट्रपति बन्न सुकीलाई संवैधानिक प्रतिबन्ध रहेकाले राष्ट्रपतिमा कियलाई छनोट गरिएको थियो । सुकीलाई स्टेट काउन्सुलरको जिम्मेवारी दिइएको थियो ।

सन् २०१७ मा म्यानमारको रखाइनमा ठूलो हिंसा भड्किएको थियो । उक्त हिंसापछि सो क्षेत्रका ६ लाखभन्दा धेरै रोहिंग्या मुस्लिमहरु भागेर बंगलादेश पुगेका थिए । यो घटनापछि भने आङ साङ सुकीको छवि धुमिल हुन पुग्यो । उक्त हिंसामा सुकीले सेनाको साथ दिइन् । यो कदमको विश्वभर आलोचना भएको थियो । यो हिंसामा सेनाको साथ दिएपछि उनलाई दिइएको नोबेल शान्ति पुरस्कार पनि फिर्ता गरिएको थियो । उक्त हिंसाबारे उनले हेगमा स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

गत नोभेम्बरमा म्यानमारमा भएको निर्वाचनमा पनि सुकीकै पार्टीले अत्यधिक बहुमत पाएको थियो । तर, यो नतिजाबारे सेनाले भने आपत्ति जनाउँदै आएको थियो । सेनाले निर्वाचनमा धाँधली भएको भन्दै नतिजा स्वीकार गर्न मानेको थिएन । यस विषयमा वार्ता चलिरहेको भए पनि निष्कर्ष ननिक्लिएपछि सोमबारबाट नयाँ संसद्ले आफ्नो काम सुरु गर्ने दिन नै सेनाले ‘कू’ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment