+
+
Shares

महँगीले जनताको ढाड सेक्यो, मन्त्री भाषणबाजीमा व्यस्त

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ माघ २० गते १८:३०

२० माघ, काठमाडौं । मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूतिमन्त्री बनेका लेखराज भट्टले बजार अनुगमनका नाममा थुप्रै पटक वाहवाही बटुले । कोरोना त्रासका कारण पेट्रोल पम्पहरुमा लाइन लाग्दा भट्ट आफैं अनुगमन गरे । भारतले प्याज आपूर्ति बन्द गर्दा कालोबजारी हुन थालेपछि आफैंले प्याज खरिद गर्न पुगे ।

माओवादी पृष्ठभूमिबाट आएका मन्त्री भट्ट ‘छापामार शैली’को बजार अनुगमनकै कारण चर्चामा रहे ।

५  पुसमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा भएपछि महंगी फेरि बढेको छ । तेल, चिनी, चालम लगायतका दैनिक उपभोग्य वस्तुहरुको समेत भाउ बढेको छ । तर, बजार अनुगमनकै कारण वाहवाही कमाएका भट्टलाई यसले छोएको छैन ।

अधिकारीहरुका अनुसार मन्त्री भट्टलाई आजभोलि मन्त्रालयमा भेटिन छाडेको छ । ‘उहाँ मन्त्रालयमा आएपनि एकछिन बसेर फर्किनुहुन्छ’ एक अधिकारीले भने ।

संसद विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा उद्योगमन्त्री भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको ओली समूहमा लागेका छन् । यो समूहमा माओवादी पृष्ठभूमिका केन्द्रीय नेताहरु थोरै भएका कारण उनलाई राजनीतिक भेला र बैठकमा सहभागी हुँँदैमा फुर्सद छैन ।

पुस १५ गते काठमाडौंमा रहेका सुदुरपश्चिमका कार्यकर्ताहरुलाई सम्बोधन गरेका मन्त्री भट्टले सूदुर पश्चिममा आफ्नो पकड देखाउन पुस २४ गते प्रधानमन्त्रीलाई नै उपस्थित गराएर विशाल सभा गरे । त्यो सभाको व्यवस्थापनका लागि मन्त्री भट्ट र उनको सचिवालय निकै खटेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । त्यस यतापनि हरेक दिनजसो मन्त्री भट्ट राजनीतिक कार्यक्रममा नै व्यस्त देखिन्छन् ।

सोमबार मात्रै पनि उनी कार्यकर्ता भेलालाई सम्बोधन गर्न नुवाकोट पुगेका थिए । मन्त्री राजनीतिक भाषणबाजीमै व्यस्त भएपछि वाणिज्य विभागलाई पनि हाइसञ्चो भएको छ । तरल राजनीतिक अवस्थामा नियमनकारी निकायले आँखा चिम्लिएपछि दैनिक उपभोग्य बस्तुमा भएको महंगीले उपभोक्ताको ढाड सेकेको छ ।

खाने तेलको उपभोक्ता मूल्य तीन महिनामा प्रतिलिटर ४० रुपैयाँसम्म बढ्यो । तोरी, सोयबिन र सनफ्लावर तेलको भाउ बढेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट पुष्टि भयो । तर दैनिक एक सय मेट्रिकटन खाने तेल बजार पठाउने उद्योगलाई विभागले तीन लाख जरिवाना लिएर छायो ।चिनीको पनि मुल्य बढ्यो । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारी कोटाको चिनी बिक्री नगरेको तथा साल्ट ट्रेडिङको मौज्दात सकिएको मौका छोपेर उद्योगीहरुले गत सातादेखि फ्याक्ट्रीमै चिनीको मूल्य प्रतिकिलो ७ देखि १० रुपैयाँसम्म बढाए । त्यही कारण एक साताअघिसम्म ७३ रुपैयाँ किलोमा पाइने चिनीका लागि अहिले ८५ देखि ९० रुपैयाँ पुगेको छ ।माघ पहिलो सातादेखि चामलको मूल्य पनि बढेको छ । जिरा मसिनो चामलको मूल्य किलोमै १० रुपैयाँ बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार २५ किलोको चामलको बोराको मूल्य २५० रुपैयाँभन्दा बढी बढेको छ । यसअघि १४०० मा पाइने एक बोरा चामललाई अहिले १६५० रुपैयाँसम्म पर्छ । किन मूल्य बढ्यो भन्दा भारतको किसान आन्दोलनलाई देखाउन गरेका छन् ।

खुद्रा व्यापारीले उठाए हात

आयातकर्ता व्यापारी तथा होलसेलले कालोबजारी गरेको भन्दै नेपाल खुद्रा ब्यापार संघले मूल्य बढेको खाद्यन्न बिक्री नगर्न मातहतका किराना पसलहरुलाई सर्कुलर गरेको छ ।

‘बरु ब्यापार नगर्ने तर होलसेलको ठगी धन्दामा आफूहरु सहभागी नहुने भन्दै सदस्यहरुलाई सचेत गराइएको छ,’ संघका महासचिव अमुल काजी तुलाधरले भने ।

प्याकेटमा खुद्रा बिक्री मूल्य १९० रुपैयाँ लेखेको तेललाई होलसेलले बिल नदिई २०० सम्म लिने गरेको उनले बताए । ‘खुद्रालाई होलसेलले सामान दिदाँ बिल दिँदैन, तर एमआरपी हामीले तिरेभन्दा कम छ’ उनले भने, ‘एमआरपीभन्दा बढीमा मूल्य बेच्यो भने वाणिज्य विभागले दुई लाख जरिवाना ठोक्छ ।’

खाद्य वस्तुको बढेको मूल्यबारे पटकपटक विभागलाई जानकारी गराएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । तर, विभागले बजार अनुगमनमा चासो दिएको छैन ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले चिनी र तेल तथा डण्डीमा मात्रै मूल्य बृद्धि भएको बताए । मूल्य बृद्धि भएको सामानका उत्पादक तथा व्यवसायीलाई बोलाएर छलफल गरेको भन्दै उनले भने, ‘मूल्य बढाउनेलाई कालोबजारी ऐन अन्र्तगत कारबाही गर्न प्रमाण पुगेन, प्रमाण पुगेको दिन कारबाही गर्छौं ।’

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?